डडेल्धुरा: डडेल्धुराका तीन स्थानमा निःशुल्क परिवार नियोजन शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजना तथा सुनौलो नेपालको सहयोगमा सन्तान संख्या पूरा गरेका पुरुष तथा महिलाहरूलाई लक्षित गरी निःशुल्क परिवार नियोजन शिविर सञ्चालन गरिने भएको हो।
अनुभवी डाक्टरद्वारा महिलाहरूका लागि स्थायी बन्ध्याकरण (मिनिल्याप) र पुरुषहरूका लागि स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) निःशुल्क शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। कार्यालयले बुधबार जिल्ला सदरमुकाममा परिवार जियोजन स्थायी बन्ध्याकरण शिविर अगावै अन्तरक्रिया तथा समन्वय बैठक पनि सम्पन्न गरेको छ।
स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत भवानसिंह कुँवरका अनुसार शिविर चैत १ र २ गते डडेल्धुरा अस्पताल, चैत ४ गते आलिताल स्वास्थ्य चौकी गोदाम र चैत ५ गते जोगबुडा अस्पतालमा सञ्चालन हुनेछ। उनले सन्तानको रहर पुगिसकेका महिला तथा पुरुषहरूले उक्त शिविरमा आएर सेवा लिन अनुरोधसमेत गरेको गरे।
शिविरमा महिलाहरूका लागि पाखुरामा राख्ने इम्प्लान्ट सेवा र पाठेघरमा राख्ने आईयूसीडी सेवा उपलब्ध गराइने जनाइएको छ। मिनील्याप गर्न आउने महिलाहरूले खाना, नास्ता केही नखाई भोको पेट र एकजना आफन्त साथमा लिएर आउन स्वास्थ्यकर्मीको सुझाव छ।