काठमाडौं– उमंग र खुशीयालीको पर्व हो होली ।
होलीमा रंगीचंगी रंग, अबिर, लोला,पानीको प्रसस्त प्रयोग गरिन्छ । बजारमा उपलब्ध कम गुणस्तरका रंगहरुको प्रयोगले छालालाई नकारात्मक प्रभाव पार्नु स्वभाविकै हो ।
यद्यपि, केही कुरामा ध्यान दिँदा हामीले हाम्रो शरीरको छाला, आँखा तथा कपाललाई सुरक्षित राख्न सक्छौं ।
यसैबीच कलाकर्मीले दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकका निर्देशक तथा वरिष्ठ छाला रोग विशेषज्ञ डा.रुपक घिमिरे संग होलीमा प्रयोग हुने रंगको नकारात्मक प्रभाव तथा त्यसबाट जोगिन के–के गर्न सकिन्छ भन्ने विषयमा संक्षिप्त कुराकानी गरेको छ ।
कुराकानीको सम्पादित अंश:
कलाकर्मी : होलीमा प्रयोग हुने रंगले छालालाई कस्तो असर पार्छ ?
डा.रुपक घिमिरे : होलीमा प्रयोग हुने रंगले हाम्रो छालामा सबैभन्दा पहिला त लगाउने बित्तिकै इचिङ हुने अर्थात चिलाउने, पोल्ने जस्ता समस्याहरु देखिन्छ । त्यसपछि रंग लगाएको ठाउँमा छाला रातो हुने, कहिलेकाहीं धोएपछि पनि रातो हुने, डाबर आउने जस्ता समस्याहरु देखिन्छन् । यसलाई एलर्जी कन्ट्याक्ट डर्माटाइसिस भनिन्छ । यो कहिलेकाहिं रंग लगाएकै दिन तुरुन्तै पनि हुनसक्छ, कहिलेकाहिं भोलिपल्ट, पर्सिपल्ट पनि डाबरहरु बढ्दै जाने पनि हुनसक्छ । यसले छाला संग-संगै कपाललाई पनि रुखो बनाउने, सुख्खा बनाउने, आँखा पनि पोल्न सक्ने समस्या हुनसक्छ ।
त्यो संग–संगै अहिले त कतिपय ठाउँमा फोहोर पानीहरु, कुहिएको अण्डाहरु, बिग्रिएको तरकारी जस्तै टमाटरहरुले पनि होली खेल्ने चलन छ । त्यसले छालामा बिकारहरु जस्तै इन्फेक्सनहरु गराउने, फोलिकलाइटिस गराउनेसम्मका असरहरु पनि देखिन सक्छन् ।
कलाकर्मी : रंगको असरबाट छालालाई बचाउन के गर्नु पर्छ ?
डा.घिमिरे : रंगको असरबाट बच्नका लागि पहिलो कुरा त आफ्नो चिनेजानेको, आफ्नो सर्कल अथवा आफन्तहरुमाझ मात्रै होली अथवा रंग खेल्नु पर्छ । होली खेल्दा रंग अथवा अविरलाई पुरै अनुहारमा नदलेर थोरै टिका जस्तो मात्र लगाउने अथवा गालामा हल्कामात्र लगाउन सकिन्छ । यसबाहेक होलीको दिन घरबाट बाहिर निस्कनुअघि पुरा बाहुला भएको पहिरन लगाउनु पर्छ । सनस्क्रिनहरु लगाउनु पर्छ । मोइश्चराइज लगाउनु पर्छ । कपालमा पनि होली खेल्न निस्कनुअघि हल्का तेलजस्तो अथवा कुनै सिरमहरु लगाएर निस्कियौं भने कपाललाई पनि जोगाउन चाहिँ सकिन्छ । यसका साथै सफा पानीले मात्रै पनि होली खेल्न सकिन्छ, लोलाहरुको प्रयोग सकेसम्म नगर्ने, गर्नै पर्यो भने सफा पानी प्रयोग गरेर पनि खेल्न सकिन्छ ।
कलाकर्मी: कस्ता रंग छालाका लागि बढी खतरानाक अथवा घातक हुन्छ ?
डा.घिमिरे : बजारमा पाउने कमर्सियल खालको रंगहरुमा लेड, क्रोमियम, कपर, मर्करी, आइरन जस्ता कुराहरु मिसिएको हुन्छ । त्यसैले ती कमर्शियल खालका रंगहरु पक्कै पनि छालाका लागि हानिकारक हुनसक्ने अवस्था छ ।
कलाकर्मी: रंग प्रयोग गर्नु नै पर्दा कस्तो रंग प्रयोग गर्ने ?
डा.घिमिरे : सधैं त सम्भव नहोला, तर हेर्दा खेरी अलिकति धार्मिक जस्तो पनि देखिने, राम्रो पनि देखिने चन्दन, हल्दी जस्ता रंगहरु थोरै मात्रामा गालामा लगाएर अथवा निधारमा लगाएर खेल्दा खेरी पक्कै पनि अर्ग्यानिक खालको रंग प्रयोग गरियो भने त राम्रो हो । तर विशेषगरी लिड, क्रोमियम, कपर, आइरनहरु नभएको रंगहरु नै प्रयोग गर्दा राम्रो हुन्छ ।
कलाकर्मी: रंगले छालामा कस्ता–कस्ता असर पार्छ ?
डा.घिमिरे: रंगले छालामा पार्ने असर भनेको त पहिलो कुरा त स्टेनिङ अर्थात छाला रातो हुने हो, जुन रंग लगाएको तीन–चार दिनसम्म रहन सक्छ । अर्को चाहिँ तत्काल छाला पोल्न थाल्छ, चिलाउने हुन्छ । छालामा एलर्जी हुने डाबर आउने अनि होलीको बेला फोहोर पानी चलाउनाले छाला पाक्ने, इन्फेक्सन हुने समस्या पनि देखिन सक्छ ।
कलाकर्मी: रंगका कारण उत्पन्न समस्याको समाधान कसरी गर्न सकिन्छ ?
डा.घिमिरे: सबैभन्दा पहिला त रंगलाई धुनुपर्छ र थोरै समस्या छ भने छालामा मोइश्चराइजहरु लगाउनु पर्छ । माइल्ड खालको साबुनहरु प्रयोग गर्नु पर्छ । धेरै खालको समस्या भयो छाला रोग विशेषज्ञलाई देखाएर नै खाने तथा लगाउने औषधिहरु नै प्रयोग गर्नु पर्ने हुनसक्छ ।
कलाकर्मी: होलीमा छालाको सुरक्षाका लागि के भन्न चाहनु हुन्छ ?
डा.घिमिरे: यसका लागि त होली खेल्दा पुरा बाहुला लुगा लगाउने, चर्को घाममा ननिस्कने, सकेसम्म आफन्तहरुबीच मात्रै होली खेल्ने, रंगहरु लगाउँदा पनि थोरै मात्र लगाएर धेरै समयसम्ममा छालाको कन्ट्याक्टमा बस्न नदिने अर्थात चाँडै पखाल्ने, पखाल्दा माइल्ड खालको साबुन प्रयोग गर्ने, माइल्ड खालको फेसवासहरु सफा गर्ने र अन्त्यमा मोइश्चराइजर प्रयोग गर्ने ।
कलाकर्मी: अन्त्यमा, यहाँ चाहिँ होलीमा रंग खेल्नु हुन्छ कि हुन्न ?
डा.घिमिरे: कोरोनाको बढ्दो जोखिमका कारणले यो वर्ष सार्वजनिकस्थलमा होली खेल्ने कुरै भएन । त्यसैले घरमै परिवारका सदस्यहरुमाझै सानो जमघटका बीच होलीलाई रमाइलो तरिकाले मनाउने तयारी भैरहेको छ ।