कैलालीः सत्ता गठबन्धनको सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई अझै प्रभावकारी बनाउने गरी छलफल अगाडि बढाएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा बसेको संयन्त्रको दोस्रो बैठकमा प्रदेश सरकारको कामलाई अझै प्रभावकारी बनाउने, राजनीतिक नियुक्तिलाई तत्काल परिपूर्ति गर्ने, जनताको अपेक्षा र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार गर्ने लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका प्रवक्ता सुरत रावतले जानकारी दिए।
‘सरकारलाई अझै प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको थियो। आपसी समझदारीको आधारमा चाँडै राजनीतिक नियुक्ति परिपूर्ति गर्ने निर्णय गरिएको छ’ प्रवक्ता रावतले भने। सुदूरपश्चिमका प्रादेशिक अस्पतालहरूको अध्यक्ष पद रिक्त हुँदै छ। खेलकुद परिषद् युवा परिषद्, विभिन्न पर्यटन विकास बोर्ड र प्रज्ञा प्रतिष्ठान पनि चाँडै रिक्त हुँदै छन्। राजनीतिक नियुक्तिका बेला गठबन्धनमा खटपट नहोस् भन्नका लागि बुधवारको छलफलले त्यसको खाका बनाउने जिम्मा मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह र पूर्व मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई दिएको छ।
‘राजनीतिक नियुक्तिका विषमा दुई दलका नेताहरूले खाका ल्याउनु हुन्छ ,त्यसमा छलफल गरेर चाँडै नियुक्ति गर्ने छलफल भएको छ’ बैठकमा सहभागी एक नेताले भने। बैठकमा कांग्रेसको तर्फबाट प्रदेश सभापति वीरबहादुर बलायर, मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेश उपसभापति जनकराज अवस्थी र प्रदेश प्रवक्ता सुरत रावल थिए। त्यस्तै बैठकमा एमालेको तर्फबाट केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पूर्व मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी उपस्थित थिए।
बुधवारको बैठकको अध्यक्षता कांग्रेस सभापति बलायरले गरेका थिए। यस अघिको पहिलो संयन्त्रको बैठकको अध्यक्षता एमालेका इन्चार्ज भट्टले गरेका थिए। बैठकमा पूर्व मुख्यमन्त्री रावलले आगामी बजेट अझै प्रभावकारी हुनुपर्ने बताएका थिए। ‘अब टुक्रे योजना होइन दिगो रूपले हेरेर गौरवका योजनामा सरकारले चासो दिनु पर्छ’ उनले भने, ‘आगामी बजेट प्राथमिकताको आधारमा हुनुपर्छ र हुन्छ।’