तेस्रोपटक सर्‍यो दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता

काठमाण्डौ : आगामी ०८२ को ३ देखि १० जेठसम्म हुने भनिएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने भएको छ । खेलकुदमन्त्री तेजुलाल चौधरीले शुक्रबार बोलाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकमा प्रतियोगिता जेठमा हुन नसक्ने घोषणा गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि चौधरीले योसमेत गरी तीनपल्ट प्रतियोगिताको मिति सारेका हुन् । पहिलोपटक २ देखि ९ मंसिरसम्म प्रतियोगिता गर्ने भनिएको थियो । मन्त्रालय र राखेपबिच आपसी साझेदारी हुन नसक्दा प्रतियोगिता पहिलोपटक सारियो ।

राखेपले दोस्रोपटक मिति घोषणा गरी २३ देखि ३० चैतसम्म प्रतियोगिता हुने भन्यो । तर, त्यसवेला तयारी अभावको कारण देखाउँदै जेठमा नयाँ मिति घोषणा भयो । राखेपको १२२औँ बोर्ड बैठकले प्रतिकूल मौसमका कारण जेठ महिनामा दसौँ राष्ट्रिय खेल नहुने भनिएको छ । ०७९ साल कात्तिकमा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट कर्णाली प्रदेशले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झन्डा बोकेको थियो ।

‘बोर्ड बैठकको अध्यक्षता गर्नुभएका मन्त्री चौधरीले एकैपटक दसौँ राष्ट्रिय प्रतियोगिता जेठमा नहुने घोषणा गर्नुभयो,’ बैठकमा सहभागी एक सदस्यले भने, ‘स्वयं मन्त्रीज्यूले नै अघिल्लो बैठकमा जसरी पनि प्रतियोगिता हुनुपर्छ भन्नुभएको थियो, अचानक यसपटक किन सारियो थाहा भएन ।’ दसौँ राष्ट्रिय खेलकुदमा ३५ खेलमा चार सय १९ स्पर्धामा प्रतिस्पर्धा हुने प्रस्ताव छ । आयोजक कर्णालीले प्रतियोगिता आयोजना गर्न भौतिक पूर्वाधारमा दुई अर्बभन्दा बढी लगानी गरिसकेको छ । गत हप्ता मात्रै मन्त्री चौधरीले नै प्रतियोगिताका लागि ११ वटा उपसमिति गठन गरेका थिए । एमालेले तीन, कांग्रेसले चार र माओवादीले दुई उपसमितिको नेतृत्व पाएका छन् । सरकारले प्रतियोगिताका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।

प्रधानमन्त्री ओलीको ध्यानाकर्षण
मन्त्री चौधरीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गर्नुअघि अघिल्लो दिन बिहीबार राखेपमा एमालेको कोटाबाट उपाध्यक्ष भएका धु्रव आचार्यसहित अन्य बोर्ड सदस्यले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका थिए । बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमा भएको भेटघाटमा आचार्यको टोलीले प्रतियोगिता आयोजना गर्न सकिने वा नसकिने विषयमा ओलीलाई जानकारी दिएको थियो । उपाध्यक्ष आचार्यले प्रधानमन्त्री ओलीलाई प्रतियोगिता आयोजना गर्न सरकारको तयारी नपुगेको र जेठमा आयोजना गर्न नसकिने जानकारी गराएको सहभागी एक सदस्यले बताए । त्यसपछि मन्त्री चौधरीले तत्कालै शुक्रबार दिउँसो ११ बजेका लागि बोर्ड बैठक आह्वान गरे ।

ढिलो गरी बसेको बैठकमा मन्त्री चौधरीले जेठमा प्रतियोगिता नहुने बताए । ‘कानुनी प्रक्रिया पूरा गर्न समय अभाव हुने देखिएको छ, फेरि मौसमको प्रतिकूलताका कारण स्थगित गर्नुपर्ने अवस्था आयो,’ बैठकमा सहभागी एक सदस्यले भने, ‘राखेपको अर्को बैठकले नयाँ मिति तय गर्छ ।’ राखेपका सदस्यसचिव टंकलाल घिसिङले बैठकमा प्रतियोगिता सार्न नहुने आफ्नो धारणा राखेका थिए । सबै तयारी भइसक्दा तोकिएको समयमै प्रतियोगिता हुनुपर्ने घिसिङले बैठकमा आफ्नो भनाइ राखे ।

माओवादीको ‘नोट अफ डिसेन्ट’
प्रतियोगिता स्थगित गर्ने निर्णयमा माओवादी केन्द्रका बोर्ड सदस्यले असहमति दर्ता ‘नोट अफ डिसेन्ट’ गराएका छन् । निर्धारित समयमै हुनुपर्ने मागसहित माओवादीका चार र एकजना बोर्ड सदस्यले बैठकमा नोट अफ डिसेन्ट लेखेका हुन् । प्रकाशकुमार कुसारी, दीपेन्द्र विष्ट, अन्जन धमला, अन्जना श्रेष्ठ, विना श्रेष्ठ र विश्वविद्यालयबाट बोर्ड सदस्य भएका डाक्टर मधुसुधन सुवेदीले समेत नोट अफ डिसेन्टमा हस्ताक्षर गरेका छन् । उनीहरूले संघ निलम्बन गरेर तदर्थ समिति गठन गर्ने खेलकुद मन्त्रालयको निर्णयमा समेत असहमति जनाएका छन् ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.