बैतडी : बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ स्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालयले मातातीर्थ औंसी आमाको मुख हेर्ने दिनको अवसरमा विद्यालय सेवा क्षेत्रका जेष्ठ ६ जना आमाहरूलाई सम्मान गरेको छ।
विद्यालयले २०७३ सालदेखि हरेक वर्ष माता तिर्थ औँशीका दिन वृद्ध आमाहरुलाई आदरपूर्वक सम्मान गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताए ।
कार्यक्रममा आमाहरुलाई माला, टिका, खादा लगाई फलफूल र मिष्टान्न प्रदान गर्दै सम्मान गरिएको थियो। विद्यालय परिवारका अनुसार आमाहरूले स्नेह र संस्कारको बाटो देखाउने भएकाले उनीहरूको समर्पण र मायाप्रति श्रद्धा र कृतज्ञता प्रकट गर्न कार्यक्रम आयोजना गरिएको हो।
“विद्यार्थीहरूले जेष्ठ आमाप्रतिको आदरभाव, संस्कार र सेवा भाव सिक्ने आशा लिएका छौं,“ शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद भट्टले बताए। यस्ता कार्यक्रमले नयाँ पुस्तामा संस्कार, कृतज्ञता र सामाजिक उत्तरदायित्वको चेतना थप गहिरो बनाउने अपेक्षा गरिएको उल्लेख गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो। विद्यालयले कुशे औँशीको अवसरमा जेष्ठ बुबाहरूलाई पनि सम्मान गर्दै आएको जनाएको छ।