बैतडी : नेकपा(एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, जिल्ला समिति बैतडीको दशौँ जिल्ला अधिवेशन यही वैशाख २७ गते पाटनमा हुने भएको छ । “नवीनता, सृजनशीलता र गतिशीलता” भन्ने मूल नाराका साथ हुन लागेको उक्त अधिवेशनमा जिल्लाभरिबाट करिब ३सय जना प्रतिनिधि सहभागी हुने सङ्घका जिल्ला उपाध्यक्ष रमेश विष्टले बताए । अधिवेशनका लागि तीव्र रूपमा तयारी भइरहेको उनले बताए ।
राष्ट्रिय युवा संघ बैतडीले यस अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी जेठ ९गते देखी पोखरामा आयोजना हुने दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोट गर्ने सङ्घका स्थायी कमिटी सदस्य लोकेन्द्र भण्डारीले बताए ।
आगामी नेतृत्वले युवा नेताहरूलाई थप सङ्गठित गरी पार्टीका अभियानहरूमा केन्द्रित गराउने विश्वास छ । अहिले सबै जिल्लाहरूमा राष्ट्रिय युवा संघ नेपालले अधिवेशन गरिरहेको छ ।