बैतडी: नेपाल निर्माण व्यवसायी संघ बैतडीले जिल्ला प्रशासन कार्यालय बैतडी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी शंकर बोहरामार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ९ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको महासचिव विकाश चन्दले बताए ।
निर्माण कार्य सम्पन्न गरे पनि अरबौं रकम भुक्तानी नहुँदा मारमा परेका निर्माण व्यवसायीहरुको भुक्तानी समस्या समाधान र भुक्तानी अभावका कारण सम्पन्न हुन नसकेका योजनाहरुको म्याद थपको मागसहित देशभरका निर्माण व्यवसायी संघले सरकारलाई ज्ञापन पत्र बुझाएको सुदुरपश्चिम प्रदेश निर्माण व्यबसायी संघका उपाध्यक्ष मदन मोहन विष्टले बताए ।
पुर्वनिधारित आन्दोलनका कार्यक्रमहरु अनुसार मंगलबार ज्ञापन पत्र सरकारलाई बुझाएको हो । साउन १० देखि १४ सम्म विभिन्न राजनैतिक दलका अध्यक्षहरू, सम्बन्धित् संघीय सरकारी निकायहरूमा र प्रदेश महासंघले सम्बन्धित् प्रदेश स्तरीय राजनैतिक दल तथा प्रदेश स्तरीय सरकारी निकायहरु तथा जिल्ला संघले सम्बन्धित् जिल्लाका राजनैतिक दल तथा जिल्ला स्तरीय सरकारी कार्यालयहरुमा आफ्ना मागहरुका सम्बन्धमा जानकारी गराउने निमार्ण व्यवसायी महासंघको कार्यक्रम छ ।
साउन १४ मै महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालयमा बिहान १०ः०० बजे देखि ११ः०० बजेसम्म एक घण्टा धर्ना कार्यक्रम गर्ने, सोही दिनदेखि ७ वटै प्रदेशका मुख्य मन्त्रीको कार्यालय अगाडि सम्बन्धित प्रदेश महासंघहरुले र ७७ वटै जिल्ला प्रशासन कार्यालय अगाडि सम्बन्धित् जिल्ला संघहरूले १०ः०० बजे देखि ११ः०० बजेसम्म एक घण्टा धर्ना कार्यक्रम तय गरिएको छ ।
साउन १५ मा प्रधानमन्त्री निवास अगाडि विहान ९ः०० बजे देखि १०ः०० बजेसम्म एक घण्टा धर्ना कार्यक्रम महासंघले विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । साउन १६ गतेदेखि भने महासंघले माग पूरा नभएसम्म निर्माण यन्त्र उपकरण तथा औजार सहित संघीय राजधानी केन्द्रित सशक्त प्रदर्शन गर्ने महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।