बैतडी: स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट भएको छ । स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको बार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य क्षेत्रका कार्यक्रम सम्पादनमा पाटन नगरपालिका उत्कृष्ट भएको घोषणा गरिएको हो । यस्तै दशरथचन्द नगरपालिका दोश्रो र सुर्नया गाउँपालिका तेश्रो भएको छ ।
स्थानीय तहहरुले गत आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रमा सम्पादन गरेका कामहरुको आधारमा उत्कृष्ट पालिका छनौट गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयले तय गरेका सूचक, समन्वय र सहकार्य तथा स्वास्थ्य क्षेत्रमा नवीनतम् अभ्यास गरेका पालिकाहरुलाई उत्कृष्ट पालिकाको रुपमा छनौट गरिएको हो ।
पालिकाहरुले स्वास्थ्य कार्यक्रमको लक्ष्य प्राप्ति र सेवा उपयोग दर, समयमै सही तथ्यांक प्रविष्ट गरेको, अनुगमनको समयमा सुधारात्मक कार्यान्वयन देखिएको, नवीन पहल र सिर्जनात्मक अभ्यास गरेको, तालिममा सिकेका सीपहरुको प्रयोग गरेको लगायतका सूचकहरुको आधारमा उत्कृष्ट पालिका छनौट गरिएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत रितेन्द्र बडूले बताए ।
उत्कृष्ट पालिकाहरुलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

