काठमाडौँ :
त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि करारमा कार्यरत कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको छ ।
१० वर्षदेखि करारमा रहेका अध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट उपप्राध्यापक पदमा स्थायी गर्ने २०७९ पुसमा निर्णय लिएको त्रिविले करार कर्मचारीका लागि पनि त्यही बाटो रोजेको हो ।
कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्षता र सहकुलपति तथा शिक्षामन्त्री अशोककुमार राई उपस्थित गत असार १२ को त्रिवि सभा बैठकले शिक्षक, कर्मचारी सेवासम्बन्धी नियममा संशोधन गर्ने निर्णय गरेको थियो । संशोधित नियममा ‘विश्वविद्यालयको नियमित दरबन्दीमा केन्द्रीय कार्यालयको स्वीकृतिमा अस्थायी वा करार सेवामा १० वर्ष सेवा गरेका शिक्षक, कर्मचारीलाई विशेष आन्तरिक प्रतियोगिता गर्न सकिनेछ’ भनिएको छ ।
यो संशोधनपछि २०७० सालअघि करारमा रहेका शिक्षक र कर्मचारी आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन पाउने भएका छन् । आन्तरिक प्रतिस्पर्धा २०८१ सालसम्म मात्र कायम हुने भनिएको छ ।
by: prasashan news