बैतडी:
बैतडीमा जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । महाकाली राजमार्ग अन्तरगत बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित तारलमा जिप दुर्घटनामा परेको हो ।
बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बर जिप गएराति पौने १२ बजे तारलमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
दुर्घटनामा परि जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका १ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन् ।
घाइते चालकको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने सहचालकको जिल्ला अस्पतालमा उपचार गरिएको प्रहरी निरीक्षक जोशीले बताए ।
जिपमा चालक र सहचालक मात्रै सवार थिए । जिप सडकबाट १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।