बैतडी: सासुले बुहारीमाथि हसिया प्रहार, प्रहरी कार्यालयमा निवेदन

बैतडी:

बैतडीमा सासुले बुहारीलाई हसिया प्रहार गरेर घाइते बनाएकी छन् । जिल्लाको सुर्नया गाउँपालिका ५ हरिचनकी जानकी मडैले आफ्नै बुहारी राधिका मडैलाई हसियाले प्रहार गरेर घाइते बनाएकी हुन् ।

जानकीले हसियाले प्रहार गर्दा राधिकाको टाउकोमा दुई घाउ भएका छन् भने खुट्टामा समेत घाउ बनाएको पीडित महिलाकी भाउजु सरीता बोहरा महराले बताइन् । जानकीले आफ्नै बुहारी राधिकालाई यसअघि पनि पटक पटक कुटपीट गर्दै आएकी थिइन् ।

शनिबार दिउँसो जानकीले राधिकाको टाउको र अन्य ठाउँमा हसियाले प्रहार गर्दा उनी भागेर माइत पुगेकी थिइन् । ३ छोराछोरीकी आमा राधिकाको काखमा सात महिने दुधे बालक समेत रहेको छ ।

सासुले कुटपीट गर्नथालेपछि आफू भागेर माइत आएको उनले बताइन् । घाइते राधिकाले आइतबार जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन् । सासुले लगातार कुटपीट गर्न थालेपछि राधिकाले जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएकी छन् ।

पीडित राधिकाको निवेदन प्रहरीमा आएको र पीडकलाई बोलाएर यो बिषयमा छलफल गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । दुवै पक्षलाई बोलाएर घटनाका बिषयमा अनुसन्धान गरिने प्रहरीको भनाइ रहेको छ ।

पीडित महिलाको श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.