सुदुरका पहाडी जिल्लामा जंगली जनावरको आतंक, तराइ सर्दै बस्ती

ललित बोहरा/बैतडी:  सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा जंगली जनावरहरुले आतंक मच्चाउन थालेका छन । पहाडी जिल्ला डडेल्धुरा, डोटी, बैतडी, अछाम, बझाङ, बाजुरा, दाचुलाका कृषक दिउँसो बाँदर, राती बदेल र दुम्सीबाट मकैबाली जोगाउन खेतमै बस्ने गरेका छन् ।

यहाँका धान नहुदाँ स्थानमा मकैबाली तथा दलहनबाली लगाउन गरिन्छ । बाँदर र बदेलले बालीनाली नष्ट गर्दा स्थानीयहरु हैरान भएका छन् । बाँदरबाट बालीनाली जोगाउन मुस्किल भएपछि पछिल्लो समयमा खेत बाँझै छोड्नुपर्ने बाध्यता आएको पाटन नगरपालिका वडा नम्बर १ डैसिलीका सन्तोष बोहराले बताए ।

गएको केही बर्षयता जंगली बदेलले सताउन थालेको र पछिल्लो समयमा झन् आतंक बढेको उनको भनाइ छ । उनले भने, ‘मकैबाली हुने हाम्रो जग्गा अहिले बदेलबाट जोगाउन नसक्दा घरबाट अलि टाढा रहेका खेतहरु बाझो छोडेका छौँ।’

यता पाटन नगरपालिका वडा नम्बर २ का श्याम दत्त पन्तको परिवारलाई जंगली जनावर बदेल, दुम्सी र बाँदरले सताएको छ । खेतमै सानो बस्ने ठाउँ बनाएर घरमा मान्छे पालै पालै दिउँसो र राती ड्युटी बस्ने गरेका छन् । उनले भने, ‘दिउँसो बाँदरका लागी बस्नु पर्छ, राती दुम्सी र बदेलका लागि बस्नु पर्छ, जागराम बसेपनि राती केहिले त सुत्ती हाल्छौ आएर खाई दिन्छ ।’

बाँदरले बारीमा लगाएको अन्नबाली सबै सखाप पार्न थालेपछि दशरथचन्द नगरपालिका- ८ कापडीगाउँका बासिन्दा हातमा गुलेली समातेर दिनभर पहरा दिन थालेका छन् । जमीनमा लगाएको मकैबाली जोगाउन गुलेली समातेर दिनभर ड्युटी गर्दा समेत जोगाउन नसकिएको चन्दले बताए । हुलका हुल बाँदरले खेतपाती सबै नष्ट गरिसकेको उनले बताए । उनले भने ‘हामी गाउँका हरेक घरबाट कम्तीमा एकजना गुलेलीसहित ड्युटीमा बस्ने गरेका छौं । तर बारी जोगाउन सकिएको छैन् ।’

बिहान झिसमिसेसंगै बाँदर धपाउने ड्युटी शुरु हुने गरेको स्थानीय हरिनादेवी चन्दले बताइन् । गुलेलीसहित बिहानैदेखि बारीमा ड्युटीमा खटिँदा समेत बालीनाली जोगाउन नसकिएको उनले बताइन् । उनले भनिन् ‘सैयौंको संख्यामा बाँदर आउने गरेका छन् । खेतबारीमा लगाएको केही पनि भित्र्याउन पाइदैन् ।’

बाँदरकै कारण कापडीगाउँका अधिकांश खेतहरु बाँझै छन् । केही खेतमा मकैबाली लगाएको भएपनि जोगाउन धौ धौ भएको स्थानीय सुमित्रा चन्दले बताइन् । गुलेलीले हानेर बाँदरहरुलाई केही तर्साउन खोजिएपनि बारीमा आउन नछोडेको उनले बताइन् ।

पछिल्लो समयमा घरभित्रबाटै समेत बाँदरले अन्नपात लगेर खाने गरेको उनले बताइन् । उनले भनिन् ‘बाँदरका कारण धेरै जना यताबाट पलायन भइसके । हामी यता भएकाहरुलार्ई पनि जीवन जिउन सकस भइरहेको छ ।’

लटरम्म फलफूल फल्ने कापडीगाउँमा बाँदरले केही बाँकी नराख्ने गरेको स्थानीय गोदावरी चन्दले सुनाइन् । आफूहरुको पीडा सुनिदिने कोही नभएको उनको गुनासो छ । बाँदरकै कारण थातथलो छाडेर जानुपर्ने अवस्था आइसकेको उनले सुनाइन् । उनले भनिन् ‘बिहानदेखि ड्युटीमा खटिएर पनि बाली जोगाउन सकिएको छैन् । खेतमा गरिएको मिहनेत त्यतिकै खेर जाने गरेको छ ।’

दशरथचन्द नगरपालिकाका अधिकांश वडाहरुमा बाँदर आतंक छ । बाँदर नियन्त्रणका लागि स्थानीय सरकारले केही पहल नचालेको स्थानीयहरुको गुनासो रही आएको छ ।

तर यो बिषयमा नगर प्रमुख पुष्करराज जोशी लख्खाभाइले भने बाँदर नियन्त्रणका लागि स्थानीय सरकारको एक्लो प्रयासले सम्भव नहुने भएकाले संघीय सरकारको ध्यानाकर्षण गराएको बताए ।

गाउँपालिका महासंघले जंगली जनाव सम्बन्धी अलगै कानुन ल्याउन सरकारसंग बेला बेला माग गरेको महासंघका कोषाध्यक्ष तथा अजयमेरु गाउँपालिका डडेल्धुराका अध्यक्ष उमेशप्रशाद भट्टले बताए ।

गाउँपालिका महासंघले बाँदर, बँदेल र दुम्सी नियन्त्रणका लागि अलग्गै संघीय कानुन बनाउन माग गरेको छ । देशभरिका गाउँपालिकाका जनप्रतिनिधि संलग्न रहेको महासंघले बाँदर, बँदेल र दुम्सीजस्ता वन्यजन्तुले किसानलाई अत्यधिक दुख दिएको र ठूलो क्षति भइरहेको भन्दै तिनको नियन्त्रणका लागि सरकारले अलग्गै कानुन बनाउन आवश्यक रहेको भनेका छौँ उनले भने, यो देशभरका पहाडी जिल्लाको विकराल समस्या भएको छ ।

 

us dintal patan
Leave A Reply

Your email address will not be published.