ललित बोहरा/पाटन:
बैतडीमा पनि आँखा पाक्ने रोग तिव्र गतीले फैलिँदै छ । तराईका जिल्लाहरुमा अत्याधिक देखीएको आँखा पाक्ने रोग पहाडी जिल्लाहरुमा समेत तिव्ररुपमा फैलिँरहेको एक बैतडीका दुई आँखा जाँच केन्द्रको तथ्याङकले देखाएको छ ।
बैतडी जिल्लामा रहेका दुई आँखा जाँच केन्द्र गोठलापानी र पाटन साउन २० गतेसम्म ३ सय २१ जनामा संक्रमण देखिएको छ । नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालद्धारा सञ्चालीत आखा उपचार केन्द्र पाटनमा २ सय र गोठलापानीमा १ सय २१ बिरामीलाई सक्रमण पत्ता लागेको आखा उपचार केन्द्र पाटनमा कार्यरत कर्मचारी लता कर्कीले बताइन् ।
साउन १ देखी १० सम्म कहिले काही मात्र देखीए पनि अहिले १० देखी १२ दैनिक रुपमा आँखा समस्या भयो भनेर आउने गरेको उनले बताइन् । आँखा पाक्ने रोगको समस्या बढेपछि यहाँका स्वास्थ्य कार्यालय र स्थानीय तहले जनचेतनामुलक कार्यक्रमको आयोजना गर्ने लागेको स्वाथ्य कार्यालय बैतडीका प्रमुख योगश भट्टले बताए ।
पाटन आँखा जाँच केन्द्रमा शिगास, मेलौली,शिवनाथ, पञ्चेश्वर, पुर्चौडी, सुनर्या र गोठलापानी आँखा जाँच केन्द्रमा दनपा, डिलाशैनी, दोगडाकेदार लगायतका बिरामी आउने गरेका छन् ।
के कारण फैलिँदै छ आँखा पाक्ने रोग, कसरी जोगिने ?
एडिनो भाइरसले अन्य व्यक्तिमा पनि संक्रमण फैलाउँछ । कुनै वस्तु छोइसकेपछि हात धुनुपर्छ । आँखालाई हातले छोइराख्नु हुँदैन । संक्रमित व्यक्तिले रुमालको प्रयोग गर्नुपर्छ । चिकित्सकको सुझावअनुसार औषधोपचार गर्नुपर्छ । तर, कतिपयले चिकित्सकको अनुमति बिना जथाभावी एन्टिबायोटिक प्रयोग गर्ने गरेको पाइएको छ । यसो गर्दा झन् ठूलो क्षति निम्तिन सक्छ । बरु, आँखा शीतल पार्ने ड्रप कृत्रिम आँसु भने प्रयोग गर्न सकिन्छ ।
लक्षणहरू:-
एक्कासि एउटा वा दुवै आँखा रातो हुने,
आँखा धेरै चिलाउने तथा टाँसिने,
आँखाबाट बारम्बार पानी बगिरहने,
कचेरा लाग्ने तथा टाँसिने,
आँसु बगिरहने,
आँखा सुन्निने,
घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने तथा धमिलो देखिने।
आँखा पाकेपछि के गर्ने?
साबुनपानीले राम्ररी हात धुने,
आँखा सफा राख्ने,
आँखाबाट निस्केको पिप जस्तो पदार्थ सफा कपास वा नरम कपडाले समय समयमा सफा गर्ने र त्यसपछि राम्ररी साबुनपानीले हात धुने,
फोहोर कपडा वा लगाइरहेको लुगा, सारीको आँचल वा हातले आँखा नपुछ्ने,
दिनदिनै लुगा र प्रयोग गरेको रुमाल फेर्ने,
आँखामा लगाउने शृङ्गार सामग्रीको प्रयोग बन्द गर्ने,
अरूका लुगा, रुमाल र शृङ्गारको उपकरण प्रयोग नगर्ने,
आफूखुशी औषधि प्रयोग नगर्ने र आँखा विशेषज्ञलाई देखाउने,
आँखा बेस्सरी नमिच्ने। यसो गर्दा कर्नियामा घाउ हुन सक्छ, कहिलेकाहीं आँखा पाक्ने मात्रै नभई अरू रोग जस्तैः युभेटिसले गर्दा पनि आँखा रातो हुन्छ, जुन उचित समयमा उपचार नगरिएको आँखाको ज्योति गुम्ने खतरा हुन्छ।
संक्रमितसँग नसुत्ने, भीडभाड हुने ठाउँमा नजाने,
सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने,
कालो चश्माको प्रयोग गर्ने,
स्कूल, कलेज लगायत भीडभाड हुने स्थानमा नजाने।