डडेल्धुराः
डडेल्धुरा अस्पतालमा थप दुई चिकित्सक हाजिर भएका छन्। एक एमडिजिपी र एक मेडिकल अफिसर गरी दुई डाक्टर अस्पतालमा हाजिर भएका हुन्। एमडिजिपी डा. कमलेशप्रसाद यादव र मेडिकल अफिसर डा. आशिष अधिकारीलाई बुधवार अस्पतालमा स्वागत गरिएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए। उनका अनुसार दुवैजना स्वास्थ्य मन्त्रालयबाट स्थायी दरबन्दीमा आएका हुन्।
गत साउन २२ गते नवौं तहका बालरोग विशेषज्ञ डा. सन्तोषकुमार गुप्ता मेसु रूपमा आइसकेका छन्। अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको स्थायी दरबन्दी छ। यो अस्पतालमा १८ जना मेडिकल अधिकृतको दरबन्दी छ।
तर सबै चिकित्सक र मेडिकल अधिकृतको पदपूर्ति हुन सकेको छैन। रिक्त चिकित्सक र मेडिकल अधिकृतको पदपूर्तिका लागि आफूले पहल गरिरहेको अस्पताल विकास समितिका अध्यक्ष ओझाले बताए।

