बैतडी: नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ बैतडीमा पनि सुरु भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रूपमा उद्घाटन गरेसँगै शनिवारबाट अभियानको सुरुवात भएको हो । माओवादीले जिल्लाका विभिन्न क्षेत्रमा छुट्ट्याएर केन्द्रीय सदस्य र प्रदेश सदस्यलाई कमान्डर तोकेको छ ।
कमान्डर र सहकमान्डरहरुले आ–आफ्नो क्षेत्रको एक ठाउँबाट र प्रत्येक वडामा पार्टीका प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी सदस्यले अभियानको सुरुवात गरेका छन् । अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने माओवादीको योजना छ ।
जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराउने माओवादी बैतडीले जनाएकाे छ। बैतडीको ८४ ओटै वडामा अभियानको शुरुवात भएको जिल्ला संयोजक शंकर भण्डारीले बताए ।
तीन महिनासम्म सञ्चालन हुने अभियानका क्रममा सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, वार्ड कमिटि गठन र पुनगर्ठन र जनवर्गाीय संगठनहरुलाई सक्रिय बनाउने पाटन नगरपालिकाका कमाण्डर तथा केन्द्रीय सदस्य मञ्जु बमले बताइन् ।
यस्तै अभियानको दौरानमा पत्रकार, बुद्धिजीवि, सामाजिक अभियान्ताहरुसंग अन्तरक्रिया गर्ने, संघीय सरकारले सुशासनका पक्षमा गरिरहेको कामलाई सफल बनाउनका लागि छलफल गर्ने, अनियमितता, भ्रष्टाचारका घटनाहरुको खोजी गरी कानुनी दायरमा ल्याउने, विकास निर्माणका कामहरुका लागि पहल गरिने माओवादी केन्द्रले जनाएको छ ।
बिशेष रुपान्तरण अभियानका लागि बैतडीका १० ओटै पालिकामा इञ्चार्जहरु खटिएका छन् । जिल्लाको दशरथचन्द नगरपालिकामा केन्द्रीय सदस्य भरत धानुक (पुकार), पाटन नगरपालिकामा केन्द्रीय सदस्य मञ्जु बम, पुर्चौंडी नगरपालिकामा वैकल्पिक केन्द्रीय सदस्य माया नेगी, मेलौली नगरपालिकामा केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सना र सिगास गाउँपालिकामा वैकल्पिक केन्द्रीय सदस्य गणेश खत्री इञ्चार्जको रुपमा खटिएका छन् ।
यस्तै शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा वैकल्पिक केन्द्रीय सदस्य भक्त विश्वकर्मा, सुर्नया र दोगडाकेदार गाउँपालिकामा वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर धामी, डिलाशैनी र दोगडाकेदारमा प्रदेश कमिटि उपाध्यक्ष मानसिंह माल इञ्चार्जको रुपमा खटिएका छन् ।