बैतडी :
बैतडीको पाटन नगरपालिकाले स्थानीय सरकारमा जनप्रतिनिधी आएपछि पहिलो पटक शहीद तथा वेपता परिवारलाई सम्मान गरेको छ । बुधबार पाटन नगरपालिका ६ मा एक औपचारीक कार्यक्रमको आयोजना गरी शहीद तथा बेपत्ता परिवारलाई नगरपालिकाले नगदसहित सम्मान गरेको हो ।
नगरपालिकाले विभिन्न संघर्ष तथा परिवर्तनका आन्दोलनमा शाहदत प्राप्त गर्ने तथा बेपत्ता भएका व्यक्तिका परिवारका सदस्यलाई नगदसहित सम्मान गरेको नगर उपप्रमुख कमल सिंह बोहराले जानकारी दिए । उनले भने, विभिन्न समयमा राजनितीक परिर्वतनका लागि शाहदत प्राप्त गरेको परिवारलाई हामीले सम्झेका छौ। परिवारका सदस्यलाई स्थानीय सरकारले हाम्रो परिवारको छोरा, भाई, बुवा, नातीले देशका लागि केही गरेको रहेछ त्यसैले सम्मान गरेका छन् भन्ने परोस भन्ने धेयले कार्यक्रम गरिएको हो।,
बेपत्ता छानविन आयोग र जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्राप्त नामावलीमध्ये १५ जना शहीद तथा बेपत्ता भएका परिवारका सदस्यहरुलाई दोसल्ला प्रमाणपत्र र नगद ५ हजार सहित सम्मान गरिएको उनले बताए । यस्तै उनीहरुलाई कम्बल र झोला पनि वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवं निर्वतमान प्रदेश सभासदस्य प्रेमप्रकाश भट्ट आदित्य, नगरप्रमुख गौरीसिह रावल, उपप्रमुख कमलसिह बोहरा, वडा अध्यक्ष लगायत अन्य नागरिकहरुको सहभागिता रहेको थियो ।