डडेल्धुरा:
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले काम नगर्ने ठेकेदारको म्याद थप नगरिने बताएका छन्।
नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आइतबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यसपालि म्याद थप गर्दा धेरै विचार गरिने बताएका हुन्। तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनीको ठेक्काको म्याद थप नगर्नका लागि आफूले लबिङ गरिरहेको उनको भनइ छ।
‘निर्माण कम्पनीले लामो समयसम्म विभिन्न बाहना वा कारण देखाएर योजनाहरू सम्पन्न नगरेका धेरै उदाहरण छन्। यसपालि म्याद थप गर्दा चाहिँ विचार गरेर थप्छौँ,’ मन्त्री देउवाले भने, ‘आफ्नो ऐन, नियम र कार्यविधि राम्रो बनाएर यसपटक काम नगर्ने कम्पनीको ठेक्काको म्याद थप्नु हुन्न भन्ने पक्षमा छु र त्यसका लागि लबिङ गरिरहेको पनि छु।’
आएको बजेट फ्रिज हुनु पनि सडकहरू समयमै निर्माण हुन नसक्नुको कारण भएको उनले बताए। बजेट कार्यान्वयन गर्ने कार्यालय, निर्माण कप्पनी र उपभोक्त समितिका कारण पनि आएको बजेट फ्रिज भइरहेको मन्त्री देउवाको ठम्याइ छ।
डडेल्धुरामा आएको बजेट कार्यान्वयन नहुँदा यहाँ विकास कम भएको मन्त्री देउवाको बुझाइ छ। समयमै काम पूरा नहुँदा जिल्लामा आएको बजेट फ्रिज भइरहेको उनले बताए। ‘संघीय, प्रदेश सरकारबाट यहाँ आएको बजेट कार्यान्वयन भए मात्रै धेरै काम हुने हो।