बैतडीको पाटनमा निमार्ण सम्पन्न नहुदै भताभुङ्ग ‘हिरापुर पार्क’

ललित बोहरा/बैतडी:

एक दिन बैतडीको पाटन नमुना बन्छ, त्यसपछि नमुना सहर बजारमा मान्छेलाई हिँडडुल गर्न खाली ठाउँ हुँदैन। ओपन स्पेस वा खाली ठाउँ नभएको सहर बस्ने लायक मानिँदैन। यस्तै अनेक सपना देखाइएको थियो, बैतडीका स्थानीय बासिन्दालाई।

त्यही भएर बैतडीको पाटन नमुना सहरबाट करिब ५ किलोमिटर टाढा सुन्दर डाँडामा हिरापुर पार्क निर्माणको काम थालियो। तर त्यो पार्क बनेर सकिन नपाउँदै जीर्ण बनेको छ। सल्लाका रुखमा मुनि बनेका भौतिक संरचनाहरू भताभुङ्ग छन्। स्थानीय बासिन्दाको भनाइमा सरकारी हेलचक्र्याइँ मात्र होइन त्यहाँ भएका देवीदेवता रिसाएकाले पनि पार्कको निर्माण पूरा हुन नसकेको हो।

स्थानीय बासिन्दाको मेलापात गर्ने ठाउँमा पाटन नगरपालिकामा रहेको नमुना सहर कार्यालयले करोडौँ खर्च गरेर भौतिक संरचनाहरू निर्माण हो।

चालु आर्थिक वर्षमा पनि ५० लाख बराबरको गेट र टिकट घर निर्माण भएको नयाँ सहर कार्यालय पाटन बैतडीका सूचना अधिकारी ई.रोहित भण्डारीले बताउनुभयो।

‘नयाँ सहरबाट अनुमानित तीन करोड जति लगानी भएको छ होला गत आर्थिक वर्षमा पनि गेट निर्माणमा ५० लाखको काम भएको छ। भुक्तानी कमै भएको छ।’ सूचना अधिकारी भण्डारीले भन्नुभयो, ‘यो वर्ष अहिलेसम्म पार्कमा माथिबाट बजेट विनियोजन भएको छैन।’

पार्कमा अहिले निर्माण भएको गेट र नयाँ बनेको टिकट घर (दुई कोठे) भवन बाहेक राम्रो केही पनि छैन। पार्क सञ्चालन राम्रा नभएपछि त्यो पनि जीर्ण हुँदै जाने छ।

पार्कमा वन भोज गर्नका लागि जस्ताका टहरा, पानीधारा, तारजालीको बार, टायलको बाटो, सामान्य र ठुलो गेट गरी दुई गेट तथा पार्किङस्थल निर्माण गरेको छ। तर सबै जसो संरक्षणको अभावले काम नलाग्ने अवस्थामा पुगेका छन्। धारामा पानी नआउने टुटी हराएका तथा पार्किङ स्थललाई स्थानीयले गोरु बाँध्ने स्थल बनाएका छन्।

नयाँ सहरले निर्माण गर्ने पाटन १० औँ नमुना सहरलाई हेर्ने भ्यु टावर बनाउने योजना थियो। देवीदेवताको करण देखाउँदै स्थानीयले भ्यु टावर निर्माण गर्न दिएनन्। डाँडाबाघको मन्दिर नजिक भएकाले ठुलो टावर बनाउन नदिएको स्थानीय हरि कठायतले बताए। उनले भने, ‘डाँडा बाघ मन्दिरको वरिपरि ३ तलाको घरै पनि बनाउन नहुने बुढापाकाको भनाई छ त्यसैलाई आधार मानेर टावर बनाउन नदिएको हुन्।’

रिसाएका देवीदेवता

पाटन नगरपालिका वडा नम्बर ६ मा पर्ने हिरापुर मनोरञ्जन पार्क निर्माण गर्न यहाँका स्थानीय बासिन्दाको चाहना भने छैन। पार्कमा पिकनिक गर्न ठाउँहरू बनाएपछि त्यहाँ पिकनिक गर्ने विभिन्न खालका गीतसङ्गित बजाउने तथा युवा–युवतीले गलत कार्य समेत गर्न थालेपछि स्थानीय बासिन्दाले विरोध गरेका हुन्। किनकी उनीहरूको भनाइमा यस्ता गलत क्रियाकलापले डाँडाबाघको मन्दिरका देवीदेवता रिसाएका छन्। त्यही भएर स्थानीयको विरुद्धपछि हिरापुर मनोरञ्जन पार्कको नाम मनोरञ्जन हटाएको स्थानीय तथा जिल्ला समन्वय समिति सदस्य करन कठायतले बताउनुभयो। उहाँले भन्नुभयो, ‘मनोरञ्जन पार्क भनेपछि अस्वाभाविक गतिविधि बढेर स्थानीय बासिन्दा आजित भए। अब नाम नै परिवर्तन गर्न हाम्रो सुझाव छ।’ धर्मकर्ममा बढी विश्वास गर्ने स्थानीय बासिन्दालाई मन्दिर नजिक मनोरञ्जन पार्क पटकै मन परेको छैन।

 

पर्यटन लोभ्याउन बनाएको पार्क अहिले टिकट निःशुल्क भएपछि एक जना घुम्न आउँदैनन्। गोरु चर्ने जङ्गलमा करोडौँ लगानी गरेपछि स्थानीय सरकारले संरक्षण गर्नु पर्ने निर्माण गर्न कार्यालय नयाँ सहर पाटनको भनाई छ। निर्माण नै अधुरो भएकाले स्थानीय सरकार भने त्यो पार्क अहिले नै बुझ्ने पक्षमै छैन। पाटन नगरपालिका नगर उपप्रमुख कमल सिंह बोहराले भन्नुभयो, “निर्माण सम्पन्न नभई त्यो पार्क स्थानीय सरकारले अहिले बुझ्दैन। घेरबार समेत राम्रो बनाएको छैन। ”

पार्क निर्माण डिपीआर अनुसार गर्नु पर्ने वडा नम्बर ६ का अध्यक्ष राजेन्द्र विष्टको माग छ। उहाँभन्नुहुन्छ, “अहिले रकम छैन भने हुँदैन काम सम्पन्न गर्नु पर्छ यो योजनालाई क्रममागतमा राख्न म नयाँ सहर कार्यालयलाई सुझाव दिन्छु।”

अब पार्कमा बनेका संरचनाको संरक्षणका लागि घेरबार, स्थानीय बासिन्दाको माग अनुसार विवाह मण्डप, फुटपाथ निर्माण गर्नु पर्ने देखिन्छ। यदि निर्माण रोक्ने हो भने अहिले सम्मको गरेको सरकारको लगानी बालुवामा पानी हुने निश्चित छ। र विस्तारै पार्क क्षेत्र अहिले जसरी गोरु चराउने (गोरु पार्क) बन्ने निश्चित छ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.