पोषणमैत्री वडा घोषणाको तयारी अन्तिम चरणमा

डडेल्धुरा:

डेल्धुराको अमरगढी नगरपालिका- १० लाई पोषणमैत्री वडा घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ । चैत ३ गते पोषणमैत्री वडा घोषणा गर्नका लागि तयारी तीव्र पारिएको हो । बुधबार युरोपियन युनियनका राजदूत नोना डिप्रेजसहित युरोपियन युनियनका सदस्य राष्ट्रहरुका चार जना राजदूतको टोलीले अन्तिम निरीक्षण गरेका छन् ।

युरोपियन युनियनका राजदूत डिप्रेजसंगै सदस्य राष्ट्र जर्मनीका राजदूत थोमस प्रिन, फ्रान्सका राजदूत गिल्स बोरबाओ र फिनल्याण्ड राजदूत रिना रिक्का हेइक्का सहितको टोलीले आज वडा नम्बर १० मै पुगेर अन्तिम निरीक्षण गरेको हो । सो क्रममा उनीहरुले वडा नम्बर १० मा रहेको सहश्रलिङ्ग स्वास्थ्य चौकीको निरीक्षण गरे भने माषिक रुपमा बस्दै आएको आमा समूह बैठकमा पनि सहभागी भए ।

उनीहरुले स्थानीय बासिन्दा र सरोकारवाला निकायसंग छलफल पनि गरेका थिए । अन्तिम निरीक्षणमा अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशी र उपमेयर पार्वती झुकालसहित विभिन्न दातृ निकायका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।

अमरगढी नगरपालिका, युरोपियन युनियन, युनिसेफ, युएसएआइडी र सु–आहाराले ०७६ सालदेखि थालेको अभियानअन्तर्गत वडा नम्बर १० लाई ३ गते पोषणमैत्री वडा घोषणा गर्न लागिएको वडा अध्यक्ष खेमराज भट्टले बताए । उनका अनुसार पोषणमैत्री वडा घोाषणाका लागि सबै सूचक पूरा भइसकेकाले राजदूतको टोलीले सकारात्मक प्रतिक्रीया दिएको छ ।

अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर बिष्टले वडा नम्बर १० लाई पोषणमैत्री वडा घोषणाका लागि सम्पूर्ण सूचक पूरा भइसकेको बताए । ‘वडाका सबै घरमा शौचालय, जुठ्यान, भाडावर्तन सुकाउन च्याङ, कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्न खाडल, शुद्ध पिउने पानीका लागि फिल्टर, करेसा बारी रहेको छ । अन्य सबै सूचक पनि पूरा गरिएको छ,’ उनले भने ।

उनका अनुसार नेपाल सरकारले बनाएको सबै मापदण्ड पूरा गरेर पोषणमैत्री वडा घोषणा हुन लागेको अमरगढी नगरपालिका वडा नम्बर १० नै पहिलो हो । ‘स्थानीय रुपमा सूचक बनाएर यसअघि नै अछामका २ वटा वडालाई पोषणमैत्री घोषणा गरिएको छ,’ उनले भने, ‘तर, नेपाल सरकारले बनाएको मापदण्ड पूरा गरेर पोषणमैत्री वडा हुन लागेको यो नै पहिलो हो ।’ यस्तै युरोपियन युनियन, जर्मनी, फ्रान्स र फिनल्याण्डका राजदूतसंग डडेल्धुरा अस्पतालको संस्थागत विकास र सञ्चालित सेवा सुविधाका विषयमा पनि छलफल भएको छ ।

us dintal patan
Leave A Reply

Your email address will not be published.