थप दुई वटा एम्बुलेन्स खरिद गर्दै आलिताल गाउँपालिका

डडेल्धुरा:

डडेल्धुराको आलिताल गाउँपालिकाले थप दुई वटा एम्बुलेन्स खरिद गर्ने भएको छ। गाउँपालिकाले बिरामीलाई अस्पताल ल्याउन सहज होस् भन्ने उद्देश्यले थप दुई एम्बुलेन्स खरिद गर्ने भएको हो।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटमा २ थान एम्बुलेन्स खरिद गर्ने उल्लेख छ। सोहीअनुसार गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नाले जानकारी दिए।

शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै एम्बुलेन्स उत्पादन गर्ने कम्पनीलाई ७ दिनभित्र गाउँपालिकामा सुचीकृत हुन आह्वान गरेको छ। एम्बुलेन्स उत्पादन गर्ने कम्पनी वा त्यसको अधिकृत र आधिकारिक विक्रेताहरूको सुची तयार गर्न सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ को (क, ८) र सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ बमोजिम सुची दर्ता गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाले बताए।

बिरामी तथा गर्भवतीलाई प्रसूति गराउन अस्पतालसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले थप एम्बुलेन्स खरिद गर्न लागिएको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले बताए। उनका अनुसार पालिकाभित्रका कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट वञ्चित हुन नपरोस् र सबै गाउँपालिकावासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सकियोस् भनेर एम्बुलेन्स खरिद गरिँदैछ।

‘यहाँका नागरिकलाई आर्थिक अभावमा अस्पतालसम्म पुग्न असहज नहोस् भन्ने उद्देश्यले एम्बुलेन्स किनिदिन लागेका हौं,’ उनले भने, ‘एम्बुलेन्स भएपछि बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान सजिलो पनि हुन्छ।’

पालिकामा सञ्चालन रहेको दुई वटा एम्बुलेन्समध्ये एउटा सञ्चालनमा छ भने अर्को बिग्रिएको छ। गाउँपालिका अध्यक्ष पार्कीकाअनुसार बिग्रिएको एम्बुलेन्सको मर्मत सम्भार कार्य पनि अन्तिम चरणमा पुगेको छ। नयाँ एम्बुलेन्स आएपछि बिरामीलाई लाभ पुग्ने विश्वास लिइएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.