डडेल्धुरा ।
डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित चमडामा भलिबल र कबड्डी प्रतियोगितासंगै सांस्कृतिक कार्यक्रम हुने भएको छ । अजयमेरु गाउँपालिकाको सांस्कृतिक महत्व बोकेको बीरबेताल जात्रा अर्थात चमडा जाँतको अवसरमा अजयमेरु गाउँपालिका वडा नम्बर २ को आयोजनामा भलिबल र कवड्डी प्रतियोगितासंगै सांस्कृतिक कार्यक्रम पनि हुने भएको हो ।
वडा अध्यक्ष शिवराज भट्टका अनुसार असोज ९ गते खुल्ला पुरुष कबड्डी प्रतियोगिता राखिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १० हजार र दोस्रो हुने टिमलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने वडा अध्यक्ष भट्टले बताए ।
यस्तै ९ गतेदेखि नै भेट्रान कप भलिबल प्रतियोगिता पनि हुने छ । वडा अध्यक्ष भट्टका अनुसार उक्त प्रतियोगितामा ३५ वर्षमाथिका खेलाडीले मात्रै सहभागिता जनाउन पाउनेछन् । ‘भेट्रान कप भलिबल प्रतियोगिताको बिजेता टिमलाई १५ हजार र दोस्रो हुने टिमलाई १० हजार नगद पुरस्कारको व्यवस्था गरेका छौं,’ वडा अध्यक्ष भट्टले भने ।
१० गतेदेखि खुला पुरुष भलिबल प्रतियोगिता हुने वडा अध्यक्ष भट्टले बताए । प्रतियोगितामा विजयी हुने टिमलाई ३० हजार, दोस्रो हुने टिमलाई १५ हजार र तेस्रो हुने टिमलाई ७ हजार पुरस्कार प्रदान गरिने आयोजक वडा नम्बर २ ले जनाएको छ ।
यस्तै १० गते राति डेउडा प्रतोयोगिता र ११ गते बिहानदेखि बृहत सांस्कृतिक कार्यक्रम हुने आयोजक वडा नम्बर २ का अध्यक्ष भट्टले जानकारी दिए । कार्यक्रममा मोडल झरना बोहरा, लोक डेउडा गायक दिर्घराज फुलारा, रमेश मल्ल, टेकराज ओझा, गायिका ममता धामी, डेउडिया करबिरसिंह ऐर लगायतको प्रस्तुति रहने जनाइएको छ ।