ललित बोहरा/ बैतडी: बैतडीको पाटन नगरपालिका–३ मा पर्ने सिगास माध्यमिक विद्यालयमा क्याम्पस स्थापना गर्ने अभियानलाई तिव्रता दिईएको छ । उच्च शिक्षाको अवसरबाट कोही बञ्चित नहुन, घरमा बसी बसी उच्च शिक्षा प्राप्त गर्न सजिलो होस भन्ने उद्देश्यले गुरुडामा क्याम्पस स्थापना अभियान थालिको हो ।
क्याम्पसका संञ्चालनका लागि गत भाद्र २१ गते सुदूरपश्चिम विश्वाविद्यालय समक्ष सम्बन्धन माग गरि निवेदन पेश गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं क्याम्पस संचालन तदर्थ समितिका संयोजक प्रेम सिंह भाटले जानकारी दिए ।
विश्व विद्यालयले आह्वान गरेको सूचनाको आधारमा निवेदन पेश गरिसकेको र क्याम्पस स्थापनाका लागि धरौटी फर्निचर लगायत आवश्यक पुर्वाधार निर्माणका लागि आर्थिक संकलन अभियान थालनी गरिएको विद्यालयले जनाएको छ ।
स्नातक तह संचालनका लागि शैक्षिक महाअभियान २०८० को शुरुवात गरिएको र यहि भाद्र २५ गते देखि औपचारिक रुपमा व्यक्ति संघ संस्था कार्यालयहरुबाट स्वैच्छिक रुपमा आर्थिक सहयोग संकलन भइरहेको छ । विद्यालय सेवा क्षेत्रभित्रका आठ वटा स्थानहरुमा सरोकारवाला व्यक्तिहरुको भेला बोलाई क्याम्पस संचालनका आर्थिक सहयोग संकलन गर्ने कार्य गरिएको र हाल सम्म ४१ लाख दश हजार २५ रुपीयाँ संकलन भएको संयोजक प्रेम सिंह भाटले जनाएको छ ।
स्नातक तहको कक्षा संचालन गर्न सकियो भने कम लगानीमा घर बाट नै आवत जावत गरेर बालबालिकाहरुले उच्च शिक्षा लिन सक्ने भएकाले यस अभियानमा सम्पूर्ण अभिभावकहरुको साकारात्मक साथ सहयोग प्राप्त भईरहेको तदर्थ समितिका सचिव नवराज भट्टले बताए ।
क्याम्पस संचालक तदर्थ समितिका संयोजक भाटको अध्यक्षतामा मंगलबार बसेको तदर्थ समितिको पूर्ण बैठकले हालसम्मका प्रगती समिक्षा, आगामि रणनितीबारे बृहत छलफल गरि सम्पन्न गरिएको समितिका सदस्य दिलिप सिंह कठायतले बताएको छ ।
भाद्र १५ गतेको आमभेलाबाट क्याम्पस बनाउने निर्णय गरिए अनुसार आर्थिक संकलन तथा प्रचार प्रसारका लागि विभिन्न टोलहरुमा उप समितिहरु, सल्लाहकार समिति, सचिवालय समेत गठन गरि कार्य योजना निर्माण गरिएको र उक्त कार्य योजना अनुसारका क्रियाकलापहरुलाई कार्यान्वयनका लागि अभियानलाई तिव्रता दिइने संयोजक भाटले बताएको छ ।
आर्थिक सहयोग गर्ने दानदाताहरुलाइ विभिन्न सम्मानसहित अभिलेख राखी सम्मान गरिने विद्यालयले जनाएको छ ।