बझाङ :
बझाङमा भूकम्पमा परी दुई जना घाइते भएका छन् । भूकम्पमा परी जयपृथ्वी नगरपालिका-१० का दुई जना घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको तर उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बझाङ भूकम्प [अपडेट] : दुई जना घाइते, पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
यस्तै भूकम्पपछि गएको सुख्खा पहिरोका कारण जयपृथ्वी राजमार्गअवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरको केही ठाउँमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको स्थानीय बासिन्दा दीपक जोशीले बताए ।
भूकम्पका कारण जिल्ला प्रहरी कार्यालयको एउटा भवनमा पनि क्षति भएको र जिल्लाभर अरु ठाउँमा पनि थुप्रै क्षति भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता दिीपेश चौधरीले बताए । ‘अहिलेसम्म मानवीय क्षतिको जानकारी छैन । तर थुप्रै संरचना भत्किएको अनुमान छ । हामी विवरण संकलन गर्दैछौँ,’ उनले भने ।
बझाङ सदरमुकाम चैनपुरआसपास केन्द्रविन्दु बनाएर दिउँसो ०३ बजेर ०६ मिनेटमा भूकम्प ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।
यसअघि मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताए । ठूलो भूकम्पपछि पनि लगातार परकम्पहरू गइरहेको हुनाले खुला ठाँउमा सुरक्षित भएर बस्न र सावधानी अपनाउन तामाङको सुझाव छ ।
पटक-पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसिरहेका छन् । भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ ।
बीबीसी हिन्दीका अनुसार दिल्ली एनसीआर क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्काका कारण जिल्ला अस्पतालमा भएका बिरामीहरूलाई पनि बाहिर निकालिएको छ ।