भूकम्पका कारण बैतडीमा दुईजना घाइते, दर्जनौँ घर र विद्यालय भवनमा क्षति 

बैतडी:

बझाङ केन्द्रबिन्दु भएर गएको ६।३ रेक्टर स्केलको भूकम्पले बैतडीमा पनि क्षति गरेको छ । भूकम्पले जिल्लाको सिगास गाउँपालिका, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका र पाटन नगरपालिकामा दर्जनौँ घर र विद्यालयका भवन चर्किएका स्थानीयहरुले बताएका छन् ।

यस्तै भूकम्पले बैतडीमा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता योगेश खत्रीका अनुसार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले बैतडीको डिलासैनी गाउँपालिका २ की १० वर्षिया निरा भण्डारी र सिगास गाउँपालिका वडा नं २ धौलाडी बस्ने कमला धामी घाइते भएका हुन्। निराको लटिनाथ आधारभूत विद्यालयमाथिबाट ढुङ्गा खस्दा खुट्टामा गम्भीर चोट लागेको उनले बताए ।

यस्तै सिगास गाउँपालिका वडा नं २ धौलाडी बस्ने कमलाको खरभागलामा खरकाटि रहेका बेला भूकम्प जाँदा शिवलिङ माविबाट खसेको ढुङ्गा लागेर टाउकोमा गम्भीर चोट लागेको सिगास गाउँपालिका वडा नं २ का वडा अध्यक्ष ठगेन्द्र सिंह ऐरिले बताए । घाइते धामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहको उनले बताए । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै भूकम्पले घर भत्किँदा बैतडीको सिगास गाउँपालिका–३,घकुराडी बस्ने रघुवीर साउदको घरमा क्षति पुगेको छ । साउद रोजगारीका लागि भारतमा छन् । घर भत्किएर आमा र दुई बालकको बिचल्ली भएको छ । भूकम्पले सिगास गास गाउँपालिकाको लेकलुपण माविको भवनमा क्षति पुगेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिए ।

यस्तै स्थानीयहरुका अनुसार भूकम्पका कारण बैतडीका अन्य ठाउँमा पनि विद्यालयका भवन चर्किएका छन् । भवन चर्किएको बिवरण भने प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.