स्वास्थ्य क्षेत्रमा बैतडीमै उत्कृष्ट पाटन नगरपालिका, निर्देशनालयबाट सम्मानित

बैतडी :

बैतडीका १० स्थानीय तहमध्ये स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट भएको छ । स्वास्थ्य निर्देशनालयले आयोजना गरेको बार्षिक समीक्षा गोष्ठीमा बैतडीका १० पालिकामध्ये स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै नगरपालिकालाई सम्मानित समेत गरिएको छ ।

निर्देशनालयले विभिन्न सूचकका आधारमा पालिकाहरुलाई उत्कृष्ट घोषणा गरेको हो । गत आर्थिक बर्षमा नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा सञ्चालन गरेका क्रियाकलापको आधारमा मूल्यांकन गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

पाटन नगरपालिकाले गत आर्थिक बर्षमा पालिकाको बजेटमध्ये १२ प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको थियो । पालिकाले १० वटै वडामा स्वास्थ्य शिविर सञ्चालन, पोषणमैत्री स्वास्थ्य संस्था घोषणा तथा वडा घोषणाको तयारी, शहिद परिवारका सदस्यको स्वास्थ्य बिमा, भारतमा रहेका कामदारको बिमा, प्रत्येक स्वास्थ्य संस्थाहरुमा स्तनपान कोठाको व्यवस्था लगायतका कार्यक्रमहरु गरिइको नगरपालिकाले जनाएको छ ।

यसका साथै आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पुर्याउनका लागि पालिकाले पहल गरेको भन्दै सम्मानित गरिएको निर्देशनालयले जनाएको छ ।

नगरपालिकाका तर्फबाट सम्मानपत्र ग्रहण गर्न पाउँदा खुसी लागेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए । यो सम्मानले आगामी दिनमा स्वास्थ्यका क्षेत्रमा अझै काम गर्ने हौसला बढेको उनले बताए ।

यस्तै सुदूरपश्चिमका ९ ओटा स्वास्थ्य कार्यालयमध्ये स्वास्थ्य कार्यालय बैतडी तेश्रो भएको छ भने अस्पतालहरुमध्ये बैतडी जिल्ला अस्पताल दोश्रो भएको छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.