ललित बोहरा
देहीमाण्डौं,बैतडी:
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरकाे जात्रा सकिएकाे छ । जिल्लाको दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी पर्वमा लागेको पशु बलिसहितको जात्रा आज सम्पन्न भएको हो ।
महासप्तमीबाट सुरु भएको जात्रा आज महाअष्टमीमा राँगा र बोकाको बलि सहित सम्पन्न भएको निङ्गालशैनी धार्मीक सेवा समितिकाले जनाएकाे छ । नवरात्र अन्तर्गत घटस्थापनादेखि पूजा आरम्भ भएको निङ्गलाशैनी भगवती मन्दिरमा बलिसहितको समापन भएको समिति सदस्य तथा शिक्षक कबिराज भट्टले बताए। निङ्गलाशैनी भगवती मन्दिरमा करिब २ सय राँगा र ४ सय बोकाको बलि दिइएको निङ्गालशैनी धार्मीक सेवा समितिले जनाएको छ ।
निङ्गलाशैनी भगवती मन्दिरमा जिल्लाकै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ । भाकल अनुसार राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमका दिन लाग्ने मेलामा बलि दिइदैन ।
निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरु आउने गरेका छन् । जात्रामा नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुगेका दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
पशु बलि सहितको जात्रा भव्य रुपमा सम्पन्न भएको निङ्गाशैनी मेला व्यवस्थापन समिति कोषाध्यक्ष मनोज बोहराले बताए।
जात्रामा दनपा २ को वडा कार्यालयले हेल्थडेसको व्यवस्था समेत गरेको वडा अध्यक्ष सुर्य बोहराले बताए। जात्रालाई व्यवस्थीत बनाउन सुरक्षाकर्मीसहित स्वंमसेवक परिचालन गरिएको थियो ।
फोटोहरू: