बैतडी :
नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष अम्बादत्त भट्ट डडेल्सधुरामा सम्मानित भएका छन् । संगठनको प्रदेशस्तरीय बैठकमा सहभागी हुन डडेल्धुरा पुगेका भट्टलाई माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले सम्मान गरेको हो ।
माओवादी सुदूरपश्चिम प्रदेश कमिटीको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा बैठक’ आइतबारदेखि डडेल्धुराको अजयमेरु गाउँपालिका- ३ स्थित भद्रपुरमा सुरु भएको छ । बैठकमा सहभागी पार्टीका केन्द्रीय उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रदेश कमिटीका तर्फबाट भट्टलाई सम्मान गरेका हुन् ।
माओवादी सुदूरपश्चिम इन्चार्ज खजराज भट्टले संगठनको राष्ट्रिय अध्यक्षमा आफ्नो प्रदेशबाट भट्ट नेतृत्वमा पुगेकाले बधाइका साथै पार्टीले सम्मान गरेको बताए । कार्यकाल सफल हुनेमा विश्वस्त रहेको उनले बताए । भट्ट ३० भदौमा कर्मचारी संगठनको अध्यक्ष चुनिएका थिए ।
सम्मान ग्रहण गर्दै अध्यक्ष भट्टले संघीय निजामति सेवा ऐन ल्याउन र सुशासन र समृद्धिको यात्रामा सरकारको कदमलाई संगठनले हरतरहले सहयोग पु¥याउने प्रतिबद्धता जनाए । भट्टले पार्टीको अभियान सँगसँगै संगठनको पनि अभियान चलिरहेका जानकारी गराए । उनकाअनुसार २० असोजबाट मधेश प्रदेशबाट सुरुवात भएको नेपाल राष्ट्रिय कर्मचारी संगठनको विशेष रुपान्तरण अभियान ‘एक सरकारी निकाय, एक कर्मचारी संगठन निर्माण’ पहिलो चरणमा पालिकास्तरमा केन्द्रित छ । २० पुससम्म चल्ने यो अभियानको विस्तारित बैठक शनिबार डडेल्धुरामा बसेको थियो । २० पुसपछि दोस्रो चरणमा यो अभियान चैत मसान्तसम्म वडा स्तरमा सञ्चालन हुनेछ । पार्टीको अभियानकै पुरक अभियानकै रुपमा सञ्चालन गरिएको उनले बताए ।
अध्यक्ष भट्टलाई सम्मान गर्दै पार्टीका उपमहासचिव गजुरेलले कर्मचारीको हक हित तथा सुशासनको पक्षमा दरोसँग उभिन शुभकामना दिए । प्रदेश इन्चार्ज भट्टले कर्मचारी संगठन विस्तारका लागि पार्टीको तर्फबाट संगठनको अभियानलाई हर तरहको सहयोग हुने प्रतिबद्धता जनाए ।