सुदूरपश्चिममा दशैंको समयमा सवारी दुर्घटना: ९ जनाको मृत्यु

बैतडी :

सुदूरपश्चिम प्रदेशमा दशैंका बेला १४ सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । घटस्थापनादेखि पूर्णिमासम्म भएका दुर्घटनामा ९ जनाको मृत्यु र ११ जना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणी गिरीले बताए ।

सवारी दुर्घटनामा परेर सबैभन्दा बढी कैलालीमा ५ जनाको मृत्यु भएको छ भने डडेल्धुरा, बझाङ, अछाम र बाजुरामा एक÷एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गिरीले बताए ।

दशैंको टीकापछि बढी दुर्घटना भएका र दुर्घटनामा ठूला गाडीभन्दा दुई पांग्रे सवारी साधन बढी दुर्घटनमा परेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

गत बर्ष दशैंको १५ दिनको अवधिमा १२ ओटा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए । गत बर्षको तुलनामा यो बर्षको दशैंमा बढी दुर्घटना भएको देखिएको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि चालकसंग एक मिनेट कार्यक्रम सञ्चालनमा रहेको र यसले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रहरी उपरीक्षक गिरीले बताए । दशैंको समयमा फाटफुट रुपमा सवारी दुर्घटना भएपनि ठूलो दुर्घटना नभएको उनले बताए । सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशभरी ट्राफिक प्रहरीले अभियान सञ्चालन गरेको उनले बताए । उनले भने ‘हामीले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रयास गरिरहेका छौं । त्यति हुँदाहुँदै पनि केही दुर्घटना भएका छन् । कतिपय ठाउँमा चालकहरुको लापरवाहीले पनि दुर्घटना भएको पाइएको छ ।’

दशैंतिहारलाई मध्यनजर गरेर ट्राफिक प्रहरीले प्रदेशभरी ३९ ठाउँमा हेल्प डेस्क सञ्चालन गरेको प्रहरी उपरीक्षक गिरीले बताए ।

यस्तै मापसे तथा लापसे गरेर सवारी साधन चलाउनेहरुलाई ट्राफिक प्रहरीले कारवाही समेत गरेको छ । लागु औषध सेवन गरेर सवारी साधन चलाउने दुई जना चालकलाई दशैंको समयमा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक गिरीले बताए ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.