बैतडी: लैंगिक हिंसा रोकथामका लागि बैतडीमा विभिन्न प्रयासहरु जारी छन् । जिल्लाको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाले संघ संघस्थाहरुको सहयोगमा संयुक्त प्रयास गरिएको छ ।
बैतडीमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको दोश्रो चरण अन्तर्गत दुवै पालिकामा हानिकारक प्रचलन विरुद्ध कार्यक्रमहरु संचालन भइरहेको पाटन नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख विष्ना भण्डारीले बताइन् ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा आइफास, भिसओ, पिसवीन सिएमसी नेपालले यहाँका दुई पालिकमा बिशेषरुमा कार्यक्रमहरु राखेको हिंसा अन्त्यका लागि कार्यक्रहरु गरिरहेको उनले बताइन् । दनपा र पानपामा लैंगिक हिंसा रोकथामका लागि घरभेट, आमा समुहमा मनोसमाजीक कार्यकर्ताहरु जाने गरेका छन् भने विद्यालयहरुमा रुपान्तरण कक्ष, समुदायमा जोडीसम्वाद लगायतका कार्यक्रम सञ्चालन गरिरहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका कार्यक्रम संयोजक खगेन्द्र भट्टले जानकारी दिए ।
बैतडीमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको दोश्रो चरण अन्तर्गत परियोजना व्यवस्थापन समितिको बैठकमा भट्टले विभिन्न कार्यक्रममार्फत लैंगिक हिंसा न्यूनीकरणका लागि प्रयास भइरहेको बताए ।
समुदायमा रहेका विभिन्न खालका हानिकार प्रथा प्रचलनका अन्त्यका लागि परियोजना मार्फत काम भइरहेको हो । लैंगिक हिंसा रोकथाम र प्रतिकार्य दुवै क्षेत्रमा परियोजनाले काम गरिरहेको भट्टले बताए ।
पाटनमा सम्पन्न बैठकमा बोल्दै दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशीले लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले समाजमा हिंसामा परेका मानिसहरुलाई खुलेर आउन सहयोग मिलेको बताए । उनले अल्पकालीन सुरक्षित आवास गृह सञ्चालनका लागि प्रयासरत रहेको बताए ।
यस्तै पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिह रावलले परियोजना अन्तर्गत सञ्चालन भइरहेका क्रियाकलापले हिंसा न्यूनीकरणमा सहयोग पुगेको बताए ।