डडेल्धुरा:
डडेल्धुरामा पनि दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइएको छ। ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो।
२०७९ सालमा नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले प्रत्येक माघ १ गते राष्ट्रिय कृषि जैविक विविधिता दिवस मनाउने निर्णय गरेको थियो। माघ १ गतेदेखि साताव्यापी रूपमा यो दिवस मनाउने निर्णय भएको थियो।
सोहीअनुसार डडेल्धुरामा आइतबार दिवस मनाइएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख खेमराज पनेरुले जानकारी दिए। उनका अनुसार दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरी कृषि जैविक विविधताका बारेमा किसान तथा सरोकारवालाहरूलाई जानकारी गराइएको छ। यसका साथै रैथाने बाली उपज प्रदर्शनी पनि गरिएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले जैविक विविधताको संरक्षण गर्न जरुरी रहेको बताए। उनले सबैले एकजुट भएर जैविक विविधताको संरक्षण गर्नमा अगाडि बढ्नुपर्ने औंल्याए।
जैविक विविधता संरक्षणमा तीन वटै तहको सरकारको भूमिका रहेको उनको भनाइ थियो। उनले जैविक विविधतामा नेपाल धनी देश भएपनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र जैविक विविधतामा ह्रास आइरहेको बताए।
प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले जमिन बाँझो रहँदै गएको र उत्पादन घट्दै गएको बताए। नागरिकहरूले परम्परागत खानेकुरा खान छाडेको उल्लेख गर्दै उनले विषादी वा औषधिजन्य तरकारी खाइरहेको बताए। उनले रैथाने जातका बालीनालीको संरक्षण गर्नुपर्ने उनको भनाइ थियो।
निमित्त कार्यालय प्रमुख पनेरुले पछिल्लो समय जलवायु परिवर्तनका कारण किसन समस्यामा परेको बताए।
उता आलितालमा पनि दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइएको छ। ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो।