ललित बोहरा
बैतडी : जनयुद्धको समयमा माओवादीकाे जनकारबाही हुने स्थान वयलचौरामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । २०६० साल तिर गाउँमा गलत गर्नेलाई माओवादीले वयलचौरा लगेर फिल्ड काट्ने लगायतका जनकारबाही तथा साजय दिने गरेको थियो । त्यही फिल्डमा स्थापना भएको प्रहरी पोष्टले अब गैरकानुनी कार्य गर्नेलाई कानुनी दायरामा ल्याउने भएको छ । ‘गाउँघरमा गलत काम गरे माओवादीले वयलचौरा लैजान्छन भन्थे अब प्रहरीले लगेर कानुनी सजाय दिन्छ भनेमा पुगेका छाै स्थानीय मिन चन्दले भने, ‘अब समान्य मुचुल्का बनाउन समेत सहज हुने भयाे ।’
बुधबार बैतडीको पाटन नगरपालिका–१ स्थित बयलचौरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । पोष्टको एक कार्यक्रमकाबीच नगर प्रमुख गौरीसिह रावल, उपप्रमुख कमल सिह बोहरा तथा प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले सयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
अस्थायी प्रहरी पोष्ट बयलचौरमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ६ जना परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दिपक गिरीले बताए ।
गृह मन्त्रालयले प्रहरी पोष्टको स्थापनाका लागि जिल्ला प्रशासनका कार्यालय बैतडीलाई पत्र आएपछि केही दिन अघि उक्त ठाउँमा प्रहरी पोष्ट स्थापनाका लागि सरोकारवालाहरुले स्थलगत अवलोकन गरेका थिए ।
अवलोकनपछि बुधबार स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको उपस्थितीलाई विस्तार गर्ने क्रममा बयलचौरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाको अध्यक्षतामा भएको प्रहरी पोष्ट स्थापना कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल प्रमुख अतिथी रहेका थिए । उक्त कार्यक्रममा नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा बिशिष्ट अतिथी रहेका थिए ।
अस्थायी प्रहरी पोष्ट स्थापनाका लागि प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, नेपाली सेनाको हनुमानध्वज गुल्मका गुल्मपति लोकमणी अधिकारी,जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरी, सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजारा, राष्ट्रिय भूमी आयोग बैतडीका अध्यक्ष धर्मसिंह ऐर, राष्ट्रिय अनुसन्धान कार्यालयका गोपाल भट्ट,इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठी लगायतका सरोकारवालाहरु बयलचौर पुगेका थिए । अतिथीहरुलाई स्थानीयले बाजागाजाका साथ स्वागत गरेका थिए ।
गाउँको शान्ति सुरक्षाका लागि प्रहरी चौकी स्थापना भएपछि स्थानीयहरु खुसी भएका छन् । उनीहरुले छलिया नृत्य प्रदर्शन गर्दै पाहुनाहरुलाई स्वागत गरेका थिए ।
बलयचौरमा अस्थायी प्रहरी पोष्ट स्थापना भएसंगै पाटन नगरपालिका वडा नं १ र ७ का नागरिकलाई सहज भएको वडा अध्यक्ष तर्क ठगुन्नाले बताए । प्रहरी पोष्ट स्थापनाका लागि सहयोग गर्ने सबैमा उनले धन्यावाद दिए । बयलचौरमा अस्थायी प्रहरी पोष्ट स्थापना भएसंगै जिल्लाभरी अस्थायी प्रहरी पोष्टको संख्या ६ पुगेको छ । जिल्लामा ३ ओटा इलाका प्रहरी कार्यालय र २४ ओटा प्रहरीचौकी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।