बैतडी : बैतडीको दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंमा सञ्चालन भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा ६ सय ९१ जनाले सेवा लिएका छन् ।
दशरथचन्द नगरपालिकाको आयोजना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेको प्राविधिक सहयोग र दशरथचन्द नगरपालिका-२ को कार्यालय देहीमाण्डौंको व्यवस्थापनमा शिविरको आयोजना गरिएको हो । बिहीबार र शुक्रबार आयोजना भएको शिविरमा दशरथचन्द नगरपालिका र आसपासका नागरिकले सेवा लिएका दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए ।
शिविरमा आएका मध्ये ३५ जना क्यान्सरका शंकास्पद बिरामी फेला परेका छन् । ती मध्ये ८ जनालाई थप उपचारका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पातलमा बोलाएको जोशीले बताए । स्थानीय नागरिकहरुलाई क्यान्सर जस्ता जटील रोगहरुको समयमै पहिचान गर्न सहज होस भनेर शिविरको आयोजना गरिएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।
पछिल्लो समयमा क्यान्सर जस्ता नसर्ने रोगहरुको जोखिम बढ्दै गएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । ६सय ९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ३५ जना क्यान्सरका शंकास्पद बिरामी देखिनु निकै ठूलो चुनौतीको बिषय रहेको उनले बताए ।