बैतडीमा मलामी चढेको जिप दुर्घटना: एकजनाको मृत्यु, ५ जना घाइते

बैतडी : बैतडीमा मलामी बोकको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका-१ स्थित घारडा भन्ने ठाउँमा कच्ची सडकमा जिप पल्टिँदा डिलाशैनी- १ बस्ने ५० बर्षीय गोपाल बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।

सु.प.प्र.०१०००१च ३१४६ नम्बरको जिपमा सवार १३ जना मलामी मध्ये एकजनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिपमा सवार अन्य सकुशल रहेका प्रहरीले जनाएको । बुधबार मृत्यु भएका धनपती धामीको गण्नीगाड खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा बिहीबार दिउँसो पौने २ बजेतिर जिप दुर्घटनामा परेको स्थानीय लोकेन्द्र धामीले जानकारी दिए ।

दुर्घटनामा परेर डिलाशैनी १ का रतन धामी, मन्धिर धामी, अमर धामी, लोकेन्द्र धामी र सुरेन्द्र बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जोशीले जानकारी दिए । उनीहरु सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये रतन धामीको ढाड र कम्मरमा चोट रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.