एमाले बैतडीको ९० सदस्यीय जिल्ला कमिटी घोषणा, शपथ ग्रहण

ललित बोहरा/बैतडी:

नेकपा एमाले बैतडीको ९० सदस्यीय नवनिर्वाचित जिल्ला कमिटी घोषणा गरिएको छ । जिल्लाको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार बिकसहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन गरिएको हो । पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उप(सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् ।  एमाले बैतडीको नवौं अधिवेशनबाट  विकको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटि चयन भएको एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।

पदाधिकारीको टिम सर्वसम्मत चयन भए पनि सदस्यमा बढी आकाङ्क्षी घोषणा गर्ने केही समय लागेको एमाले बैतडीले जनाएको छ ।

अध्यक्षमा निर्वाचित भएसंगै पाटन नगरपालिका ५ ओदाली घर भएका ४९ बर्षीय विकले दलित समुदायबाट एमाले बैतडीको नेतृत्व हाँक्ने पहिलो व्यक्तिको रुपमा समेत पहिचान बनाएका छन् ।

२०५३ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष भइसकेका विक एमालेको जिल्लाको कमिटि सदस्यका साथै अञ्चल कमिटि सदस्यको जिम्मेवारी समेत सम्हालीसकेका छन् । उनले तत्कालिन निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय कमिटिको अध्यक्षको रुपमा समेत काम गरिसकेका छन् ।

एमालेको जनवर्गीय संगठन मुक्ति समाज नेपालको केन्द्रीय सचिव समेत रहेका विक केपी ओली प्रधानमन्त्री भएको बेला राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीको अध्यक्ष समेत बनेका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेकातर्फबाट पाटन नगरपालिकामा नगर प्रमुख उम्मेदवार बनेका विक त्यो बेला पराजित भएका थिए ।

निरन्तर एमालेको राजनीतिमा रहेका विकले पार्टीलाई आफ्नो कार्यकालमा अझै बलियो बनाउने दाबी गरेका छन् ।

us dintal patan
Leave A Reply

Your email address will not be published.