विकास निमार्णमा महिला, हस्ताक्षर पहिला !

ललित बोहरा/बैतडी :  विकास निमार्णमा महिला सहभागीता कागजमा मात्र हुने एक कार्यक्रमका सहभागीले बताएका छन् । बैतडीको पाटन नगरपालिका वडा नम्बर २ मा आयोजित एक कार्यक्रममा महिलाहरुले नै आफुहरुलाई कोषाध्यक्ष पदमा सिमित राखेको धारणा राखेका हुन् ।

‘३३ प्रतिशत राख्नै पर्ने बाध्यताले राखिन्छ।’ स्थानीय निर्मला ऐरले भनिन्, ‘निमार्ण प्रक्रिया मात्र हैन विकास निमार्ण सकिएपछि भूक्तानीका लागि महिलालाई खाली चेकमा हस्ताक्षर गर्ने लगाउछन् ।’

यहाँका विकासमा सहभागी महिलालाई चेकबुकमा रकम नलेखी हस्ताक्षर गराउने गरेको महिला स्वास्थ्य स्वंमसेवीका राधीका ऐरले गुनासो छ । ‘समितिमा महिला बस्ने तर बढी पुरुष भएर पनि महिलाको आवाज सुनिदैन्, अध्यक्ष बनाएपनि महिला सक्दैनन् भनेर श्रीमान, ससुराले काम गर्न खोज्छन्, उनले भनिन्, ‘निर्णय प्रक्रियामा सुनुवाई नभएकाले अधिकार सुनिश्ति भएको भन्न सकिने अवस्था छैन् ।’

महिलाहरुलाई कामको ज्याला रकममा समेत विभेद भएको बताइन् । आफूहरूले पुरुष जतिकै काम गरेपनि ज्याला रकममा भने विभेद गरेको महिलाहरूको गुनासो छ।
रोजगारदाताहरू तथा घर, भवन, बाटो, सडक निमार्णमा महिलालाई दोस्रो प्राथमिकतामा राख्दै आएका छन्।

‘हामी पनि पुरुष जत्तिकै दैनिक आठ घन्टा काम गर्छाैँ, तर पारिश्रमिक पाउँदा पुरुषको तुलनामा कम पाउँदै आएका छौं,’ स्थानीय भागाकुमारी पाण्डेयले दुखेसो पोखिन्।
पुरुषसँगै महिलाहरूको संख्या बढिरहेको अवस्थामा ज्यालामा विभेद गर्न नहुने श्रमिक महिलाहरूको भनाइ छ।

मिस्त्रीभन्दा मजदुरको पारिश्रमिक कम हुने र आफूहरुलाई पनि उनीहरू बाराबरकै पारिश्रमिक हुनुपर्ने स्थानीय गीतादेवि विकले माग गरिन्।
‘मजदुरी गरेर साँझ बिहान खानाको जोहो गर्नुपर्ने हुन्छ। यसबाटै परिवारको खर्च र छोराछोरीको पढाइ खर्च धान्नुपर्ने हुछ। तर, पुरुषको तुलनामा कम पैसा पाउँदा दुःख लाग्छ,’ उनले भनिन्। ज्याला विभेदमा पहिलेको तुलनामा अहिले धेरै परिर्वतन भइसकेको जनप्रतिनिधीको जिकिर छ ।

‘हाम्रो वडा र नगरपालिकाको बजेटले निमार्ण भइरहेका काममा कही पनि विभेद ज्यालामा छैन्, वडा अध्यक्ष महेश प्रशाद पन्तले भने, ‘कसैले व्यक्तिगत काममा गरेको होला, यो कार्यालयको सरोकारको बिषय भएन्, योजनाको डोरहाजिरमा पनि त्यो देखिदैन् ।’

लैंगिक समानताका लागि नियमहरू बनेका भए पनि तिनको कार्यान्वयन प्रभावकारी नभएको विज्ञहरू बताउँछन्। महिला सशक्तीकरणबारे जति चर्चा भएपनि यथार्थमा भने महिलाका लागि खासै धेरै परिवर्तन नभएको महिलाहरूको गुनासो छ। महिलाहरू शारीरिक रूपमा कमजोर हुने र त्यसैले कम ज्याला दिइने तर्क गलत रहेको उनीहरू बताउँछन्।

लैंगिक समानता र सामाजिक समावेशीकरण प्रवद्र्धनका लागि जनप्रतिनिधी, समाजसेवी,युवासंग अन्तरक्रिया कार्यक्रममा सहमागीले घरेलु हिंसा, जतीय विभेत, लैंगिक समानता तथा युवा क्षेत्रको बजेटमा बिषयमा समेत बृहत छलफल गरेका थिए ।

युवालयको आर्थिक सहयोगमा पाटन नगर स्तरिय युवा सञ्जालले आयोजना गरेको कार्यक्रममा सहभागीलाई सम्मान र प्रमाण पत्र प्रदान गरिएको संञ्जालका सचिव निराजन पन्तले बताए ।

नगर स्तरिय युवा सञ्जालका अध्यक्ष संजय भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष महेश प्रशाद पन्त रहेका थिए ।
युवालयको आर्थिक सहयोगमा पाटन नगर स्तरिय युवा संञ्जालले १० वटै वडाका जनप्रतिनिधी, समाजसेवी,युवासंग अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । यस अगाडी वडा नम्बर ३ र ४ सम्पन्न गरिरहेको आयोजकले जनाएको छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.