बैतडी:
बैतडीको सुर्नया गाउँपालिकामा छुट अपाङ्गता व्यक्तिलाई परिचय पत्र वितरण गरिएको छ । मंगलबार शिविरको आयोजना गरेर छुट अपाङ्गता व्यक्तिहरुको परिचय पत्र निर्माण गरेर वितरण गरिएको हो । २८ जना व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको गाउँपालिकाको महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारी निर्मला चन्दले बताइन् ।
उनका अनुसार ९ जनाले क वर्गको,१४ जनाले ख वर्गको १० जनाले ग वर्गको र २ जनाले घ वर्गको अपाङ्गता परिचय पत्र पाएका छन् । ७ जनाको परिचयपत्र परिमार्जन गरिएको र २८ जनालाई नयाँ बनाएर वितरण गरिएको हो । मुक्त हलिया सशक्तिकरण अधिकार परियोजना अन्तर्गत शिविर सञ्चालन गरेर छुट अपाङगता व्यक्तिलाइ परिचय पत्र वितरण गरिएको जिल्ला हलिया मुक्ती समाजका उपाध्यक्ष जयराम बिसीले जानकारी दिए ।
अपाङ्गता भएका व्यक्तिहरुले दिएको निवेदनमा छानविन गरेर वर्गिकरण सहित परिचय पत्र निर्माण गरेर वितरण गरिएको उनले बताए । अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्रले राज्यबाट सेवा सुविधा लिन सहज हुने भएको छ ।