काठमाडौँ :
नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीको जिम्मेवारी खोसेकी छन् ।
श्रेष्ठले सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै घनश्यामको जिम्मेवारी खोसेर कैलाश चौधरीलाई जिम्मेवारी दिइएको उल्लेख गरेकी छन् ।
‘प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई दलको नेताको रूपमा दैनिक सभा सञ्चालनका लागि सहमति भएकोमा निजले दलको निर्देशन पालन नगरेका कारण परिवर्तन गर्ने निर्णय गरिएको छ,’ रञ्जिताले लेखेको पत्रमा भनिएको छ, ‘दलको विधान तयार नभएका कारण हाललाई दलको केन्द्रीय बैठकको निर्णयअनुसार माननीय सदस्य कैलाश चौधरीलाई संसदीय दलको नेताको हैसियतमा काम गर्न निर्णय भएको ब्यहोरा अनुरोध गर्दछु ।’