बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भोलि भव्य जात्रा लाग्ने

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका-२ देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु भएको छ । चैतेदशैंको अवसर पारेर निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु भएको हो ।

चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको निङ्गलाशैनी भगवती मन्दिरमा भोलि भव्य जात्रा लाग्ने निङ्गलाशैनी भगवती मन्दिरका पुजारी देवदत्त भट्टले जानकारी दिए । चैते नवरात्रीको अवसरमा मन्दिरमा घटस्थापनादेखि नै पूजाआजा शुरु हुने र चैत्राष्टमीका दिन बलि दिने चलन रही आएको उनले बताए ।

गत विगतमा चैत्र महिनामै जात्रा हुने गरेको भएपनि यो वर्ष अधिकमासका कारण बैशाखमा जात्रा लागेको पुजारी भट्टले बताए । आज सप्तमीका दिन राँगा बाँध्ने र अष्टमीका दिन पशुबलि दिने चलन रही आएको उनले बताए । निङ्गलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गरेको छ ।

दशैंको बेला महाष्टमीका दिन पशुबलिसहित जात्रा हुने निङ्गलाशैनी भगवती मन्दिरमा चैतको महिनाको चैतेदशैंमा पनि जात्रा हुने गरेको छ । यस्तै अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन पनि सो मन्दिरमा जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका दशरथचन्द नगरपालिका-२ का वडा अध्यक्ष सुर्यबहादुर बोहराले बताए । मन्दिरमा दर्शनार्थीहरु दर्शनका लागि टाढाटाढाबाट आउने गरेका उनको भनाइ छ । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.