बैतडीमा स्थानीयले थापेको पासोमा परेको चितुवाको उद्धार गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको उद्धार टोलीले पासोमा परेको चितुवाको उद्धार गरेको डिभिजन बन कार्यालय बैतडीका प्रमुख दिलिप कुमार यादवले जानकारी दिए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका बिसाल पाठक लगायतका पशु चिकित्सकले घाइते चितुवाको सामान्य उपचार गरेपछि सिगास संरक्षित बनमा छाडिएको उनले बताए । पासोमा अड्किएको खुट्टामा सामान्य चोट रहेको मात्रै रहेकाले जंगलमा छाडिएको हो । स्थानीयहरुले उद्धार टोलीसंगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाउन भनेपनि बच्चा नै भएकाले त्यस्तो केही खतरा नभएकाले त्यहीको जंगलमा छाडेको प्रमुख यादवले बताए ।
सोमबार जिल्लाको सिगास गाउँपालिका ९ चुवाँ भेरीखोला भन्ने स्थानमा स्थानीय थापेको पासोमा चितुवा परेको थियो । अन्दाजी २ बर्षको चितुवालाई स्थानीयहरुले देखेपछि प्रहरी र डिभिजन वन कार्यालयलाई खबर गरेका थिए ।
बैतडीमा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण हुन सकेको छैन । चितुवाले बैतडीको तल्लोस्वराड क्षेत्रमा २०६८ यता २८ जना मानिसको शिकार गरिसकेको छ भने जिल्लाका विभिन्न स्थानमा मानिसले थापेको पासोमा परि हालसम्म १२ वटा चितुवा मरिसकेका छन्।