अनेरास्ववियु डडेल्धुराले बुझायो प्रशासानलाई चारबुँदे ज्ञापनपत्र

डडेल्धुरा: नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) डडेल्धुराले जिल्ला प्रशासान कार्यालयलाई चारबुँदे ज्ञापनपत्र बुझाएको छ।

बिहीबार अनेरास्ववियु डडेल्धुराका इन्चार्ज एवं केन्द्रीय सदस्य पुष्कर देउवाको नेतृत्वमा प्रशासान पुगेको विद्यार्थी टोलीले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेलाई ज्ञापनपत्र बुझाएको हो। अनेरास्ववियु डडेल्धुराले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्यरूपमा छात्रवृत्ति उपलब्ध गराउन माग गरेको छ।

कुल विद्यार्थी संख्याको १० प्रतिशत नघटाएर जेहेन्दार, विपन्न्न असहाय तथा गरिब, अपाङ्ग, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा अनिवार्य छात्रवृत्ति उपलब्ध गर्नुपर्ने अनेरास्ववियु माग छ। नियम अनुकूल विद्यालयहरूले छात्रवृत्ति दिएको छ कि छैन भनेर अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन गरिदिन प्रमुख जिल्ला अधिकारी न्यौपानेलाई ज्ञापनपत्रमार्फत् अनेरास्ववियुले आग्रह गरेको छ।

विद्यार्थी आन्दोलनबाट प्राप्त भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अनेरास्ववियुबीच भएको सम्झौताअनुसार सवारीसाधनमा विद्यार्थीलाई ४५ प्रतिशत छुट कार्यान्वयन गरिदिन पनि उसले अनुरोध गरेको छ।

यसका साथै डडेल्धुराका यातायात व्यवसायीहरूले मनोमानी तरिकाले भाडा लिएको हुँदा तत्काल सरकारले निर्धारण गरेको भाडादर अनिवार्यरूपमा प्रस्ट देखिने गरी नियमित सार्वजनिक सावारी साधनमा टाँस्नुपर्ने अनेरास्ववियुको माग छ।

डोटीको बुडरदेखि जोगबुढासम्म सडक कालोपत्रे भएको वर्षौ भई सक्दा पनि भाडादर समायोजन नभएकोले तत्काल उक्त सडक खण्डमा नेपाल सरकारले कायम गरेको भाडादर निर्धारण गर्न प्रजिअ न्यौपानेलाई आग्रह गरिएको जिल्ला कमिटीका संयोग गणेशबहादुर क्षेत्रीले जानकारी दिए।

उनका अनुसार विद्यार्थी आन्दोलनबाट प्राप्त हकअधिकार र संविधानमा भएको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गराउनका र डडेल्धुरा जिल्लाभित्र देखा परेका जनजीविकाका समस्या तत्काल समाधानका लागि पहल गरिदिन ज्ञापनपत्रमार्फत् प्रशासानको गम्भीर ध्यानाकर्षण गराइएको हो।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले अनेरास्ववियले उठाएका मागहरूलाई सम्बन्धित निकायलाई बोलाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए।

ज्ञापनपत्र

 

us dintal patan
Leave A Reply

Your email address will not be published.