डडेल्धुरा: कृषि ज्ञानकेन्द्र डडेल्धुराले आइतबार जिल्ला सदरमुकाममा रहेका एग्रोभेटहरूको अनुगमन गरेको छ।
कृषि ज्ञान केन्द्रको वार्षिक कार्यक्रमअन्तर्गत एग्रोभेटहरूको अनुगमन र नियमन गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त प्रमुख खेमराज पनेरुले जानकारी दिए।
डडेल्धुरा जिल्ला सदरमुकाममा रहेका आधा दर्जन एग्रोभेटहरूमा अनुगमन गर्दा जापानमा उत्पादन गरिएका र नेपालमा उत्पादित केही ब्राण्डको बिउहरूमा म्याद समाप्त मिति उल्लेख नभएको समेत भेटिएको छ।
विभिन्न एग्रोभेटहरूमा बिक्रीवितरणका लागि राखिएको बिउविजन तथा औषधिहरू म्याद समेत गुज्रिएको अवस्थामा फे परेको निमित्त कार्यालय प्रमुख पनेरुले जानकारी दिए।
अनुगमन समितिले अनुगमनका’ क्रममा बिक्रीवितरणकालागि राखिएको अवस्थामा फेलापारेका म्याद गुज्रिएका विभिन्न प्रकारका विउवजिन तथा औषधीहरु एकदिनमा व्यवस्थापन गर्न आग्रह गर्दै पहिलोपटक अनुगमन गर्दा कैफियत भेटिएकाले व्यवसायीहरूलाई सचेत गरिएको र आगामी दिनमा यस्ता कमीकमजोरी भेटिएमा कारबाही गरिने बताइएको छ।
‘मिति नाघेका बीउ तथा औषधिलाई व्यवस्थित गर्न एकदिनको समय दिएका छौँ,’ पनेरुले भने, ‘समयावधिमा व्यवस्थित गर्न नसकेमा कारबाही गरिनेछ।’
अनुगमनमा कृषि ज्ञान केन्द्रका प्राविधिक कर्मचारी, जिल्ला प्रशासन कार्यालय, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, कर कार्यालय, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।