डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकामा पहिलोपटक रोजगार मेला हुने भएको छ। रोजगार सेवा केन्द्र अमरगढी नगरपालिकाको आयोजनामा यही वैशाख २२ गते रोजगार मेला हुने भएको हो।
श्रम बजारमा रोगजारीको पहिचानका लागि मेला आयोजना गरिएको नगरपालिकाका रोजगार संयोजक लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए। उनका अनुसार रोजगार सेवा केन्द्र डडेल्धुराको प्राविधिक सहयोगमा महेन्द्र मावि खलंगामा मेला आयोजना हुनेछ। मेलामा विभिन्न स्टलहरू रहने पनि संयोजक अवस्थीले बताए।
कामको खोजीमा रहेका र सीप भएर पनि काम नपाएका युवाहरूलाई लक्षित गरी रोजगार मेला आयोजना गरिएको उनको भनाइ छ।
‘रोजगारदाता र कामको खोजीमा रहेका युवाहरूलाई प्रत्यक्षरूपमा भेट गराउने र रोजगारीको सुनिश्चितताका मेला आयोजना गर्न लागेका हौँ,’ उनले भने, ‘मेलामा बेरोजगार युवाहरूको क्षमता पहिचान र रोजगारको अवसरको खोजी गरिनेछ।’
रोजगार सेवा केन्द्र अमरगढीले आइतबार विभिन्न व्यवसायीहरूसँग छलफल गरेको छ।