डडेल्धुरा : दलीय राजनीतिमा सक्रिय शिक्षकको आबद्धता खोज्न थालिएको छ । त्यस्ता शिक्षकलाई कारबाही गर्नका लागि राजनीतिक दलमा आवद्ध शिक्षकको विवरण मागिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले राजनीतिक दलको सदस्यता लिएका, कार्यकारिणी समितिमा रहेका र महाधिवेशन प्रतिनिधि भएका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकरकर्मचारीले विवरण मागेको हो । जिल्लास्थित सबै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखालाई पत्र पठाउँदै विवरण माग गरिएको शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीले जानकारी दिए ।
‘शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलमा आवद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएपछि हामीले विवरण मागेका छौं,’ जोशीले भने, ‘सम्पूर्ण पालिकाले परिपत्रको कार्यान्वयन गर्नुहुनेछ भन्ने विश्वास छ ।’
जोशीका अनुसार शिक्षकको विवरण प्राप्त भइसकेपछि कारबाहीका लागि शिक्षा मन्त्रालयसंग समन्वय गरेर प्रक्रिया अगाडि बढाइने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ०८१ वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न ७७ वटै इकाइहरूलाई निर्देशन दिएको थियो । ७ सय ५२ स्थानीय तहलाई समेत विवरण माग गरिएको छ ।