बैतडी :
बैतडीका ५ ओटा पालिकाले भूमीहिन र अव्यवस्थित बसोबासीको लगत संकलनको काम सम्पन्न गरेका छन् । राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै ५ ओटा पालिकाले लगत संकलनको काम सकेर आयोगमा तथ्यांक प्रविष्ट गरिसकेको जानकारी दिएको छ ।
राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अनुसार पञ्चेश्वर गाउँपालिका, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र शिवनाथ गाउँपालिकाको तथ्यांक संकलन कार्य सम्पन्न भएको हो ।
पञ्चेश्वर गाउँपालिकामा २४५ भूमीहिन दलित, ६ परिवार भूमीहिन सुकुम्बासी र ३९६ परिवार अव्यवस्थित बसोबासी रहेका छन् । यस्तै पुर्चौंडी नगरपालिकामा ५७ परिवार भूमीहिन दलित, १६ परिवार भूमीहिन सुकुम्बासी र ४९ परिवार अव्यवस्थित बसोबासी रहेका पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यसैगरी सुर्नया गाउँपालिकामा ७ परिवार भूमीहिन दलित, १६ परिवार भूमीहिन सुकुम्बासी र १९ परिवार अव्यवस्थित बसोबासी रहेका छन् । यस्तै पाटन नगरपालिकामा ५७ परिवार भूमीहिन दलित, ६४ परिवार भूमीहिन सुकुम्बासी र १५१ परिवार अव्यवस्थित बसोबासी रहेका छन् । शिवनाथ गाउँपालिकामा ४८ परिवार भूमीहिन दलित, ७ परिवार भूमीहिन सुकुम्बासी र ३४६ परिवार अव्यवस्थित बसोबासी रहेका छन् ।
अन्य पालिकाहरुले तथ्यांक संकलन गरेका भएपनि विवरण बुझाउन ढिलाई गरिरहेका राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका सदस्य सचिव एवं नापी कार्यालय बैतडीका प्रमुख विवेक चन्दले बताए ।
पालिकाहरुलाई छिटो विवरण पठाउनका लागि आग्रह गरिएको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धनबहादुर ऐरले बताए । पालिकाहरुको ढिलाईका कारण आयोगमा तथ्यांक पठाउन समस्या भइरहेको उनले बताए ।