बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकामा पालिकास्तरीय शैक्षिक सम्मेलन गरिने भएको छ । जेठ १६ देखि १८ गतेसम्म गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा शैक्षिक सम्मेलनको आयोजना हुने गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।
गाउँपालिकाभरिका ५६ ओटा सामुदायिक विद्यालयहरुले सम्मेलनमा पञ्चवर्षीय कार्ययोजना प्रस्तुत गर्ने र सोही अनुसार नीति निर्माण गरिने उनले बताए । सामुदायिक शिक्षाको गुणस्तर सुधारमा टेवा पुगोस् भन्ने हेतुले सम्मेलनको आयोजना गर्न लागिएको बताइएको छ ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले सम्मेलनमा विद्यालयहरुको आवधिक योजनाका साथै विज्ञान कला प्रदर्शनी र नृत्य प्रतियोगिता पनि सञ्चालन गरिने बताए । उनका अनुसार नृत्य प्रतियोगितामा एक वडाबाट तीन ओटा टीम सहभागी गराइनेछ ।
सम्मेलनमा शिक्षा क्षेत्रमा लामो समयदेखि काम गरिरहेका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् भने सम्मेलनले शिक्षा क्षेत्र सुधारका लागि आवश्यक खाका कोर्ने दाबी गरिएको छ । शैक्षिक सम्मेलनमा करिब ६ लाख खर्च हुन आउने अनुमान छ ।