बैतडी:
बैतडीमा आगामी आर्थिक बर्षमा प्रदेश सरकारमार्फत सञ्चालन हुने योजनाका बिषयमा आज पालिकाका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुसंग योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
आर्थिक बर्ष २०८०/८१ मा प्रदेश सरकार मातहत रहेका कार्यालयमार्फत सञ्चालन हुने योजनाहरु संकलन गर्ने र प्राथमिकीकरण गर्ने उद्देश्यका साथ गोष्ठीको आयोजना गरिएको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशीले बताए ।
प्रदेश सभा क्षेत्र नं २ अन्तर्गत रहेका पालिकाका प्रतिनिधिहरु समेतको सहभागितामा गोष्ठी सम्पन्न भएको हो । प्रदेश सभा क्षेत्र नं २ का प्रदेश सभा सदस्य शिवराज भट्टको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा पालिकाहरुलाई योजना पेश गर्नका लागि सात दिनको म्याद दिइएको कार्यालय प्रमुख जोशीले बताए ।
पालिकाहरुबाट आएका योजनाहरुलाई पछि प्राथमिकीकरण गरेर प्रदेश सरकारमा पठाइने उनले बताए । बैतडीमा प्रदेश सरकार मातहत १३ ओटा कार्यालय रहेका र ती कार्यालयमार्फत सञ्चालन हुने योजनाका बिषयमा गोष्ठीमा छलफल भएको हो ।
यस्तै १८ गते प्रदेश सभा क्षेत्र नं १ मा प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पालको सहभागितामा योजना तर्जुमा गोष्ठी गरिने सामाजिक विकास कार्यालयका प्रमुख जोशीले बताए ।
स्थानीय तहहरुबाट माग भइ आएका योजनाहरुको प्राथमिकीकरण गर्नका लागि जिल्लास्तरीय बैठकको आयोजना गरिने र सो बैठकबाट पारित भएका योजनाहरुलाई प्रदेशमा पठाइने कार्यालय प्रमुख जोशीले बताए ।