डडेल्धुराका ६ हजार बढी बालबालिकालाई आईपीभी खोप लगाइने

डडेल्धुरा: डडेल्धुराका ६ हजार एक सय ८७ बालबालिकाहरूलाई पोलियो रोगविरुद्धको खोप आईपीभी (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) लगाइने भएको छ। स्वास्थ्य कार्यालय डडेल्धुराले मंगलबार जिल्ला सदरमुकाममा आयोजना गरेको जिल्लास्तरीय खोप समन्वय समितिको बैठक तथा पत्रकार अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो।

जिल्लाका सातवटै स्थानीय तहमा जेठ १३ गतेदेखि २६ गतेसम्म आईपीभी खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोलर निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप लगाउन लागिएको हो। आईपीभी खोप अभियान सञ्चालनका लागि २४० खोप केन्द्र तोकिएको भेक्टर कन्ट्रोलर निरीक्षक भट्टले बताए। जिल्लाका ५२ वटै वडाका विभिन्न विद्यालयमा खोप केन्द्र ताकिएको हो।

नवुदर्गा र भागेश्वर गाउँपालिका तथा परशुराम नगरपालिकामा जेठ १३ देखि १८ गतेसम्म, अमरगढी नगरपालिकामा जेठ १३ देखि २२ गतेसम्म, अजयमेरु तथा आलिताल गाउँपालिकामा जेठ १३ देखि १७ गतेसम्म र गन्यापधुरा गाउँपालिकामा जेठ १३ देखि १६ गतेसम्म आईपीभी खोप लगाइने स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले जानकारी दिए । उनका अनुसार खोप दिने स्वास्थ्यकर्मी २४० र स्वयंसेवक ४४५ जना खटिनेछन्। उनीहरूलाई आवश्यक तालिम दिइसकिएको कार्यालय प्रमुख साउँदले बताए।

उनले कुनै पनि बालबालिका आईपीभी खोपबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले खोप अभियानको तयारी लगभग पूरा भएको जानकारी दिए। ‘विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालन गर्न लागिएको हो,’ उनले भने, ‘नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार ७ सय १२ जना बालबालिकालाई आईपीभी खोप लगाउने तयारी छ। सोहीअनुसार डडेल्धुरामा पनि यो अभियान सञ्चालन गर्न थालेका हौँ, सबै ठाउँका बालबालिकालाई यो खोप लगाउने गरी योजना बनाएका छौँ।’

us dintal patan
Leave A Reply

Your email address will not be published.