बैतडी : सडक डिभिजन कार्यालय पाटन बैतडीमा स्थानीयले लगाएकाे ताला खाेलिएकाे छ। सडक डिभिजन कार्यालयका प्रमुख आइतबार मात्रै कार्यालयमा हाजिर हुने र सोही दिन बृहत छलफल गरी ठोस निष्कर्समा पुग्ने सहमती भएपछि तालाबन्दी खोलिएको हो ।
पाटन–१ र ७ जोड्ने सुर्नया नदीमाथिको पुल १० वर्षसम्म बन्न नसकेको र बेलाबेला कार्यालयबाट आश्वासन मात्रै पाइएको भन्दै ठोस निष्कर्सको मागसहित बुधबार वडा नं १का स्थानीयहरुले तालाबन्दी गरेका थिए ।
सडक डिभिजन कार्यालयका प्रमुख मुकुन्द लामिछानेले पुल निर्माणको विषयमा ठोस निर्णय दिनुपर्ने संघर्षरत पक्षको माग रहेको थियो । आइतबार यस विषयमा बृहत छलफल गर्ने र ठोस सहमती हुन नसके पुनः आन्दोलनका थप कार्यक्रम अघि बढाउने सहमतीमा ताला खोलिएको हो ।
आइतबार यस विषयमा छलफल हुने र हालका लागि तालाबन्दी खोलिएको सडक डिभिजन कार्यालयका इन्जिनियर लिलाधर भट्टले जानकारी दिए ।
२०७१ साल साउन ६ गते ३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने भन्दै २ करोड ९१ लाख २७ हजार ३५५ रुपैयामा चितवनको एड्भेन्चर कन्ट्रक्सन प्रालीसँग सम्झौता भएको थियो । सम्झौता भएको १० वर्ष पुरा भइसक्दापनि हालसम्म पुल निर्माणको काम पुरा भएको छैन । हालसम्म करिब ७० प्रतिशत मात्रै काम पुरा भएको छ ।
निर्माण कम्पनीलाई कालो सुचीमा राख्ने प्रक्रियामा रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । जेठ ११ गते सूचना जारी भएको छ ।