पाटन नगरपालिकाले दियो काम नगर्ने ठेकेदारलाई साढे २ करोड पेश्की

बैतडी: बैतडीको पाटन नगरपालिकाले काम नगर्ने निर्माण कम्पनीलाई पेश्कीवाफत साढे २ करोडभन्दा बढी भुक्तानी गरेको पाइएको छ।

नगरपालिकाले सार्वजनिक खरिद ऐन विपरीत निर्माणको ठेक्का लिएको तर काम अलपत्र छोडेको कम्पनीलाई उल्टै २ करोड ५६ लाख रुपैयाँ पेश्कीवाफत भुक्तानी गरेको पाइएको हो। ठेक्का अवधिभित्र ठेक्का कार्य सम्पन्न गर्नुपर्नेमा १५ बेड क्षमताको अस्पताल भवनको कार्य २०८० चैत ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ।

१६ करोड २५ लाख पाँच हजार ४७६ मा अस्पताल भवन निर्माणका लागि सिनर्जी प्रधान जेभी नयाँ वानेश्वरसँग सम्झौता गरिएको थियो। तर अहिलेसम्म अस्पताल भवनको काम भने ६५ लाख ४४ हजार ९३ रुपैयाँ बराबरको मात्र भएको छ। काम सुरु गरेर बाँकी प्रक्रिया अलपत्र अवस्थामा छोडिएको छ।

निर्माण कम्पनीले काम सुरु गरेर बिचमै अलपत्र पारेको फेला परेको छ। सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९, ६३, सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२० (११) र १२८ अनुसार ती ठेक्काको पेश्की जमानी प्राप्त गर्ने, ठेक्का अंकको बढीमा १० प्रतिशतसम्म पूर्वनिर्धारित क्षतिपुर्ति लगाउने, ठेक्का तोड्ने, कार्यसम्पादन जमानी प्राप्त गर्ने, कालोसूचीमा राख्ने र काम पुरा गर्न अपुग रकम भराउने व्यवस्था छ।

तर पाटन नगरपालिकाले खरिद सम्झौताका उल्लेखित व्यवस्थाहरुको बेवास्ता गरेर उल्टै कानुनमा भएका व्यवस्थालाई लत्याएर २ करोड ५६ लाखको भुक्तानी दिएको पाइएको छ। यसका साथै नगरपालिकाले आर्थिक व्यवस्थापन तथा सम्पती हस्तान्तरण सम्वन्धि निर्देशिका २०७४ को निर्देशन नम्बर ५.१५ विपरीत सवारीसाधन खरिद गरेको समेत पाइएको छ। नगरपालिकाले तीनवटा मोटरसाइकल खरिदको नाममा ९ लाख ७५ हजार ६९० रुपैयाँ खर्च गरेको छ। जबकी नेपाल सरकारबाट उपलब्ध गराइएको बजेटबाट कार्यालयको नियमित प्रयोजनको लागि सवारीसाधन खरिद गर्न नपाइने व्यवस्था छ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.