ललित बाेहरा, बैतडी : बैतडीमा पनि २१ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । कृषि ज्ञान केन्द्र बैतडी र पाटन नगरपालिकाको संयुक्त आयोजनामा पाटनमा धान दिवस तथा रोपाइँ महोत्सवको आयोजना गरिएको हो ।
किसानहरुको खेतमै गएर धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको कृषि ज्ञान केन्द्रकानिमित्त कार्यालय प्रमुख घनश्याम चौधरीले बताए । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि’ नारासहित धान दिवस तथा रोपाइँ महोत्सव २०८१’ मनाइएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।
धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा किसानहरुलाई विभिन्न प्राविधिक सल्लाहहरु समेत दिइएको कृषि प्राविधिक महेश अवस्थीले बताए ।
सो अवसरमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, वडाका जनप्रतिनिधी, कृषि निर्देशनालयका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
गत बर्ष असार १५ गतेसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको बैतडीमा यो बर्ष बर्षा नहुँदा ६४ प्रतिशतमात्रै रोपाँइ भएको छ । जिल्लाका १० ओटै स्थानीय तहमा रोपाइँ हुने र सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी मिलन कँडेलले जानकारी दिए । उनले भने ‘अहिले सम्म जिल्लाभरी ६४ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको जानकारी आएको छ । आकाशे पानीको भरमा रोपाइँ गर्ने ठाउँमा रोपाइँ हुन सकेको छैन् ।’
बैतडीमा जेठको अन्तिम सातादेखि रोपाइँ गर्न शुरु गरिएको र असारभित्रै रोपाइँ सक्ने भएपनि यो बर्ष बर्षा नहुँदा समस्या भएको उनले बताए ।
बैतडीमा पछिल्लो समयमा धानखेती हुने जमीन समेत घट्दै गएको छ । पछिल्लो कृषि गणनाको तथ्यांक अनुसार बैतडीमा ५ हजार २२५ हेक्टर जमीनमा मात्रै धानखेती हुने गरेको छ । ९ हजार हेक्टर जमीनमा धानखेती हुँदै आएको बैतडीमा रोपाइँ हुने क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कँडेलले बताए ।
धान रोपाइँका लागि आधुनिक कृषि उपकरणको प्रयोग गर्ने गरिएको भएपनि धेरै ठाउँमा गोरुले जोत्ने गरिन्छ ।